२१ दिनमा भोक हडताल तोडेका सोनाम वाङचुक भन्छन्- 'लद्दाख बचाउ' अभियान जारी छ

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
२१ दिनमा भोक हडताल तोडेका सोनाम वाङचुक भन्छन्- 'लद्दाख बचाउ' अभियान जारी छ

काठमाडौं । भारतको लद्याखका सामाजिक अभियन्ता, इन्जिनियर तथा शिक्षा प्रणाली सुधारक सोनम बाङ्गचुकले आफ्नो २१ दिने भोक हड्तालको अन्त्य गरेका छन् । समुद्र सतहबाट करिब ३५ सय मिटरमाथि शून्य तापक्रममा विगत २१ दिनेदेखि भोक हड्तालमा बसेका बाङ्गचुकले मंगलबार राति हडताल अन्त्य गरेका हुन् ।

यो हड्ताल तत्कालका लागि अन्त्य भएको तर, समय आए पुनः हड्तालमा बस्ने समेत उनले बताएका छन् । उनले भने,‘पहिलो चरणको भोक हड्ताल सकिएको छ । आवश्यक परे पुनः हड्तालमा बस्नेछु । बुधबारबाट दोस्रो चरणको हड्तालको सुरुवात भएको छ । महिलाहरुले भोक हड्ताल सुरु गरेका छन् । र, यो निरन्तर चल्नेछ ।'

बाङ्गचुक आफ्नो क्षेत्रमा कलात्मक दृष्टिकोण र दीगो विकासका लागि परिचित छन् । औद्योगीकरणले लद्दाखका हिमाल क्षेत्रको नाजुक परिस्थिति र हिमनदीलाई पुग्न गएको असर न्यूनीकरणको माग गर्दै उनी भोक हडतालमा बसेका थिए ।

दक्षिणतर्फबाट ठूला औद्योगिक प्लान्ट र उत्तरबाट चीनले जग्गा अतिक्रमण गरिरहेका कारण लद्दाखमा पर्न जाने असरबारे केन्द्र सरकार सचेत हुनुपर्ने उनको माग थियो । स्थानीयको अनुमतिबिनै हिमाली क्षेत्रमा १३ गीगावाटको विद्युत प्रोजेक्ट लाद्न खोजेकोमा उनले आपत्ति जनाएका छन् ।

जलवायु मुख्य मुद्दा रहे पनि उनले लद्दाख र कार्गीलका लागि छुट्टाछुट्टै लोकसभा सिटको माग समेत गरेका छन् । लद्दाख विगतमा जम्मु कश्मिर राज्यको अंग रहेकोमा अहिले सो भू–भागलाई केन्द्र शासित क्षेत्रका रुपमा राखिएको छ भने यसको आफ्नो बेग्लै विधानसभा पनि छैन । 

विगतमा जम्मु कश्मिर विधानसभामा लद्याखका चार प्रतिनिधि रहने व्यवस्था थियो । तर, अहिले लद्याखसँग एक लोकसभा सिट मात्र छ । यसका साथै, उनले स्थानीयहरुका लागि जागिर र लोकसेवा आयागको कार्यालय लद्दाखमा खोल्न सरकारसँग माग गरेका छन् ।

लद्दाख बचाउमा उत्रिएका सोनामलाई त्यहाँका स्थानीयले समर्थन गरेका छन् । शनिबार उनको समर्थनमा करिब दुई हजारभन्दा बढी मानिस सहभागी थिए । लामो हडतालका कारण उनको स्वास्थ्यस्थिति कमजोर भएको छ । 

हड्ताल सकिएपछि पनि लद्दाखको धरातलीय अवस्थाबारे केन्द्र सरकारको ध्यानाकर्षण गराउन १० हजार किसान र भेडी गोठालालाई लिएर चीनसँगको सीमामा र्‍याली गर्ने योजना बनाएको पनि उनले बताएका छन् ।  

वाङचुकको भोक हडताललाई समर्थन गर्न चर्चित व्यक्तित्वहरु लद्दाख पुगेका थिए । दक्षिण भारतीय चर्चित कलाकार प्रकाश राज पनि वाङचुङलाई साथ दि लद्दाख पुगेका थिए । बलिउडको चलचित्र 'थ्री इडियट्स'को प्रमुख पात्र फुङसुक वाङ्डु, सोनम वाङचुककै जीवनीबाट प्रभावित भएर तयार पारिएको काल्पनिक पात्र हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement