बालबालिकामा अटिजमको समस्या बढ्दो

चैत्र २२, २०८० |सुशीला पाठक
बालबालिकामा अटिजमको समस्या बढ्दो

विराटनगर । पछिल्लो समय बालबालिकामा स्वध्यान केन्द्रित मानसिक अवस्था अर्थात् अटिजमको समस्या धेरै देखिन थालेको छ । यो समस्याको बारेमा धेरै अभिभावकलाई जानकारी नै नरहेको अवस्थामा अटिजमपीडित बालबालिकाको स्याहारसुसार र हुर्काइ चुनौती बनेको छ । यकिन तथ्यांक नभए पनि नेपाली समाजमा यो समस्या ठूलो बन्दै गएको छ ।

भोजपुर स्थायी घर भइ विराटनगरमा बसोबास गर्दै आएकी चीना मगरका छोरा तीन वर्षसम्म सामान्य थिए । ममी, बाबा भनेर बोल्न थालिसकेका बालकले त्यसपछि बोल्नै बिर्से । छोराले टाउको ठोक्ने, आफैले आफैलाई कुट्ने गर्न थालेपछि काठमाडौंको कान्ति बाल अस्पतालमा देखाउँदा अटिजम भनेर चिकित्सकले भने पनि आफूहरूलाई यसबारे खासै थाहा नभएको उनी बताउँछिन् ।

स्वध्यान केन्द्रित मानसिक अवस्थाका बच्चाले आाखा नजुधाउने, एकान्त मन पराउने, आफ्नै सुरमा एक्लै खेल्ने, घुलमिल हुन नचाहने, अरूको कुरा बुझ्न नसक्ने, बोलेर अभिव्यक्त गर्न नसक्ने हुन्छ । उनीहरू बोले पनि नबुझिने र सामान्य काम गर्न समेत अरुको मद्दत चाहिने हुन्छ । अमेरिकी अध्ययनले ५९ बालबालिकामध्ये एकजनामा अटिजम हुने देखाएकोमा नेपालमा २०२१ मा ६ लाख ४७ हजार सात सय ४४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा चार हजार आठ सय ८६ अर्थात शून्य दशमलव आठ प्रतिशतमा अटिजम भेटिएको छ ।

अटिजम भएका बालबालिकालाई विशेष हरेचाहसँगै शारीरिक थेरापी, स्पिच थेरापी, अक्युपेसनल थेरापी, बाल मनोपरामर्शसँगै र बाल रोग विशेषज्ञको नियमित सेवा र परामर्श आवश्यक पर्छ । जिनमा परिवर्तन आएर स्नायू प्रणालीको सहज रूपमा विकास नहुनु, गर्भावस्थामा जथाभावी औषधी खानु, प्रसवको बेलामा शिशुलाई आघात पर्नु, जन्मिदा दिमागमा अक्सिजनको मात्रा कम हुँदा स्वध्यान केन्द्रित मानसिक अवस्थाको समस्या आउने गरेको चिकित्सकको भनाइ छ ।

अटिजमको समयमै पहिचान गरी उपचार गरे पीडितको जीवन सहज बनाउन सकिने चिकित्सकको सुझाव छ । यसबाट बालबालिकालाई जोगाउन गर्भाअवस्थादेखि नै अभिभावक सचेत हुनुपर्ने देखिन्छ । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।