बिरामीलाई चिकित्सक नै रगत दिन्छन्

छैन रक्त रञ्चार केन्द्र
रगतका लागि सुरक्षाकर्मी गुहार्नुपर्ने
माघ ६, २०८० |राजबहादुर शाही
बिरामीलाई चिकित्सक नै रगत दिन्छन्

मुगु । मुगुको जिल्ला अस्पतालमा बिरामीलाई आवश्यक रगत चिकित्सकले नै दिने गरेका छन् । बिरामीलाई तत्काल रगत अवस्थामा खोज्न समय लाग्ने भएकाले ग्रुप मिल्नेबित्तिकै चिकित्सकहरुले आफ्नै रगत दिने गरेका हुन् ।

पछिल्लोपटक शुक्रबार मुगुको छायानाथ रारा नगरपालिका १४, बाम गाउँका १ वर्षीया मिस्सी बडुवाललाई चिकित्सक अर्जुन भामले आफ्नै एक पिन्ट रगत दिए । परिवारले घरबाट उपचार गर्न जिल्ला अस्पताल ल्याएका बडुवाललाई आइरनको कमीले गर्दा शरीरमा रगत अभाव भई ज्यान जोखिममा थियो । उनलाई आवश्यक बी पोजेटिभ रगत अन्यत्र खोज्दा तत्काल नभेटिएपछि चिकित्सक भामले रक्तदान गरेका हुन् ।

मुगु जिल्ला अस्पतालमा उपचार्थ बिरामीलाई रगत आवश्यक परे सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आग्रह गर्ने गरिएको छ । उनीहरुबाट पनि बेलाबेलामा रक्तदान हुँदै आएको छ । २०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा अहिलेसम्म रक्त सञ्चार केन्द्र भने छैन । जसकारण बिरामीलाई सास्ती खेप्नुपरेको छ ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।