ग्रामीण क्षेत्रमा आँखा शिविर : विपन्न र वृद्धवृद्धालाई वरदान

पुस ४, २०८० |दीपेन्द्र शाक्य
ग्रामीण क्षेत्रमा आँखा शिविर : विपन्न र वृद्धवृद्धालाई वरदान

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा राखिएको निःशुल्क आँखा शिविरले ग्रामीण भेगका विपन्न परिवार, बुढापाका र टाढाका अस्पतालसम्म जान नसक्नेलाई धेरै राहत मिलेको छ । स्थानीयस्तरमा चल्ने यस्ता शिविरबाट आर्थिक अवस्था कमजोर भएका बिरामी लाभान्वित हुने गरेका छन् ।

अस्पतालमा जान नसकेका कालिकोटेले यसपटक खाँदबारीमै शिविर चलेको मौका छोपेर शल्यक्रिया गरे । यो शिविरले समस्या देखिएर पनि उपचारको लागि सुविधसम्पन्न अस्पतालसम्म जान नसकेका मोहनप्रसादजस्ता आँखाका बिरामीलाई राहत मिलेको छ ।

मोहनप्रसादले आँखा राम्रोसँग देख्न सक्ने भएपछि खुसी व्यक्त गर्दै भने, ‘यो अप्रेशन गरेपछि सबै उज्यालो देखेँ । हातको चक्र देख्दिँन थिएँ, अहिले देख्ने भएँ । अहिले मेरो यो आँखा बनाइदिनेलाई सूर्य, नारायण, ईश्वर सरह मानेको छु ।’

यस्तै अर्का बुद्धि श्रेष्ठले आँखा शिविरबाट धेरै फाइदा पुगेको जनाए । उनले भने, ‘अब यहाँ शिविर थिएन भने कति खर्च गरेर सहर जानु पर्थ्यो । तर यो आँखा शिविरले धेरै राहत पुग्यो ।’

संखुवासभाका १० वटै स्थानीय तहका आँखाको रोगीको पहिचान गरेर तेजरत्न आँखा उपचार केन्द्र खाँदबारीले वाषिर्क ५ सय बढी मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्ने गरेको छ । संघले वर्षमा २५ हजार बढी आँखाका रोगीको सामान्य उपचारसमेत गर्ने गरेको छ । उपचारसँगै शल्यक्रियापछि घर फर्कनेका लागि यातायात खर्च पनि उपलब्ध गराउँदै आएको छ ।

तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले भने, ‘जो बिरामीको आर्थिक अवस्था कमजोर छ उहाँहरुलाई हामीले यातायात, खाने खर्च पनि दिएर पठाउँछौँ । यहाँ उपचार सम्भव नभएकाहरुलाई हामीले कोषकै खर्चमा विराटनर, लाहानदेखि काठमाडौंसम्म लगेर शल्यक्रिया गराएका छौँ ।’

शल्यचिकित्सक सगुन मल्लले आफ्नै ठाउँमा आँखाको अप्रेसन गर्न पाउँदा सबैलाई सजिलो र राम्रो भएको बताइन् ।

चिचिला, सिलिचोड, सभापोखरी, भोटखोला, मकालुलगायतका गाउँपालिकामा भरपर्दो स्वास्थ्य सेवा छैन । त्यसैले दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकसहितको आँखा शिविर चल्दा बिरामीको भिड लाग्ने गरेको छ । शिविरमा आँखासम्बन्धी धेरै प्रकारका समस्याको विशेषज्ञ चिकित्सकबाट निःशुल्क परीक्षण हुने भएकाले दुर्गम भेगका अधिकांश बिरामी यस्तै शिविर कुरेर बस्ने गरेका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।