दार्चुलामा डेंगी संक्रमणबाट एक विद्यार्थीको मृत्यु

भाद्र १७, २०८० |मनोज बडू
दार्चुलामा डेंगी संक्रमणबाट एक विद्यार्थीको मृत्यु

दार्चुला । डेंगी संक्रमणले दार्चुलामा एक विद्यार्थीको मृत्यु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा जेलिना चैसिरको डेंगी संक्रमणपछि उपचारका लागि भारतस्थित हल्द्धानी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विद्यालयका प्रधानाध्यापक राजेश सामन्तले जानकारी दिए ।

उनले छात्रा चैसिरलाई सामान्य ज्वरोपछि जिल्ला अस्पतालमा जाँच गर्दा डेंगी संक्रमण देखिएको थियो । उपचारका लागि भारत लगिएको थियो । छात्रा चैसिरको शनिबार अस्पतालमै मृत्यु भएको प्रधानाध्यापक सामन्तको भनाइ छ । विद्यालयले आइतबार शोक बिदासमेत दिएको छ ।

प्रधानाध्यापक सामन्तका अनुसार डेंगु संक्रमणपछि उनको जिल्ला अस्पतालमा उपचार भएको थियो । केही सुधार भएको र अस्पतालबाट घर आएपछि थप ज्वरो आउँदा भारतको हल्द्धानी उपचारका लागि लगिएको थियो ।

-प्रतीकात्मक तस्बिर


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।