भोजपुर अस्पतालमा दुई करोडको आईसीयू कक्ष प्रयोविहीन, बिरामी अन्त जान बाध्य

माघ ४, २०७९ |अर्जुन बस्नेत
भोजपुर अस्पतालमा दुई करोडको आईसीयू कक्ष प्रयोविहीन, बिरामी अन्त जान बाध्य

भोजपुर । भोजपुरमा दुई करोड रुपैयाँभन्दा धेरै लगानी गरेर बनाईएको सघन उपचारकक्ष (आईसीयू) सञ्चालनमा आउन सकेको छैन । आसियु कक्ष निमार्णसंगै उपकरण जडान भैसके पनि आवश्यक दक्ष जनशक्तिको अभावमा सेवा सञ्चालन नहुँदा सेवाग्राहीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

भोजपुरमा संघीय सरकारको करिब दुई करोड रुपैयाँको लागतमा आईसीयूकक्ष तयार भएपनि आवश्यक दक्ष जनशक्तिको अभावमा संचालनमा आउन सकेको छैन । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिक रुपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य बिरामीहरुलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ जिल्ला अस्पतालमा सघन उपचार (आईसीयू) कक्षमा चार शय्याको भेन्टिलेटरसहितको आईसीयू कक्ष तयारी अवस्थामा छ ।

‘दक्ष जनशक्तिको प्रमुख अभावको कारण सञ्चालनमा आउन सकेको छैन । यस्तै आईसीयू सञ्चालनका लागि आवश्यक अन्य खर्चको अभावले पनि अहिले सेवा प्रभावित भएको हो ।’ जिल्ला अस्पताल भोजपुरका प्रमुख डा. मिलन राईले भने ।

अस्पतालमा आईसीयू सञ्चालनका लागि एनेएसथेसिया चिकित्सकसहित १० जना शक्तिको आवश्यक पर्छ । जिल्ला अस्पतालमा भौतिक रुपमा सुविधा सम्पन्न हुँदै गए पनि अवश्यक जनशक्ति अभावका कारण समय र पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौं जस्ता सुविधा सम्पन्न अस्पताल जानु पर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएपछि रेफर गरेका कति बिरामीले बाटैमा ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

भोजपुरमा १५ शय्याको अस्पतालाई २०७९ असोज ६ गते बसेको प्रदेश १ को मन्त्रिपरिषदको निर्णयअनुसार ५० शय्यामा स्तरोन्नति गरिएको छ ।

अस्पतालमा ५० शय्या अनुसारको कर्मचारी त परको कुरा १५ शय्याको दरबन्दीअनुसार पनि कर्मचारी नहुँदा दैनिक उपचारमासमेत समस्या हुने गरेको छ ।

अस्पतालमा भएको जनशक्तिले उपचारलाई सहज बनाउन १५ बाट हाल ३७ शय्या सञ्चालनमा ल्याएको छ । उपकरण भएर पनि जनशक्तिको अभावमा उपचारका लागि जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । भौतिक संरचना र जनशक्तिको अभावमा कहिलेसम्म भोजपुरे जनताले सास्ती भोगिरहने यसमा सरकारको ध्यान जान जरुरी छ । 


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement