चिया क्षेत्रमा जनशक्ति उत्पादन गरिँदै

बगान र उद्योगमै हुने अभ्यास शिक्षणमा विद्यार्थीको आकर्षण
पुस १८, २०८० |विप्लव भट्टराई
चिया क्षेत्रमा जनशक्ति उत्पादन गरिँदै

इलाम । चिया क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहँदा इलाममा चिया प्राविधिक उत्पादन गर्ने गरी पढाइ सुरु भएको छ । स्वदेशमै रोजगारी पाउने आशामा अध्ययनका लागि विद्यार्थीको आकर्षण पनि उत्साहजनक देखिएको छ ।

इलाम नगरपालिकाको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा चिया प्रविधि प्रि-डिप्लोमा तहको कक्षा सुरु गरेको छ । चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ । गत कात्तिकबाट सुरु भएको यो विषय अध्ययन गरेर स्वरोजगार बन्ने उद्देश्यले देशभरबाट उत्साहजनक रुपमा विद्यार्थी आएका छन् ।

‘यो पढ्नु भनेको- सीप सिकौं भन्ने नै हो,’ खोटाङका विद्यार्थी विशन राईले भने, ‘चियामा भएको ज्ञान सिकौं भन्ने उद्देश्यले पढ्न आएको हो ।’

सैद्धान्तिकसँगै बगान र उद्योग गएर धेरै समय विद्यार्थीलाई अभ्यास शिक्षण गराइने क्याम्पसले जनाएको छ । चियामा नै काम गरिरहेका विद्यार्थीहरु समेत अध्ययनका लागि आएकाले उनीहरुले यो सिकाइ प्रभावकारी हुने अपेक्षा गरेका छन् ।

‘चिया काट्न सिकाउँदा पनि सिकाउन आउनेले १/२ झ्याङ काट्ने हो । अरु प्राविधिक ज्ञान हामीसँग छैन । त्यही बुझ्नका लागि म यहाँ आएको हुँ,’ इलामका विद्यार्थी हरि पौडेलले भने ।

एसईई उत्तीर्ण विद्यार्थीले यो विषय अध्ययन गर्न सक्छन् । पहिलो वर्ष ४० विद्यार्थीको भर्ना लिइएको छ । पढ्न चाहने विद्यार्थीको संख्या भने धेरै थियो । यहाँ अध्ययन गर्ने विद्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन बरु उपस्थितिको आधारमा प्रतिकक्षा एक सय रुपैयाँ प्राप्त गर्छन् ।

‘लगभग १९ महिना इन्डस्ट्रीमा बस्ने विद्यार्थी लगभग ६ दिन शिक्षालयमा आउनुहुन्छ- सैद्धान्तिकलगायत अन्य कुराहरु सिक्नका लागि,’ रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युट इलामका प्रमुख दीपक खनालले भने, ‘प्रयोगात्मक कुराहरु विद्यार्थीले इन्डस्ट्रीमै सिक्नुहुन्छ ।’

२०६८ सालदेखि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसले चिया प्रविधि तथा व्यवस्थापनको पठनपाठन सुरु गरेको थियो । मुलुकको एकमात्र चिया प्रविधि तथा व्यवस्थापन विषयको पठनपाठन सुरु भएको चौथो शैक्षिक सत्रदेखि क्याम्पसले भर्ना नै रोकेपछि पढाइ अवरुद्ध भयो ।

चियाको राजधानी मानिने इलाममै पढाइ सुरु भएको र विद्यार्थीको आकर्षण पनि उत्साहजनक रहेकाले दिगोरुपमा यो विषय अध्ययन गराउनुपर्ने आवश्यकता देखिएको छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।