मधेशमा १४ वटा छोटी भन्सार बन्द, उठेन लक्ष्यअनुसार राजश्व

सीमानाकामा अवैध निकासी-पैठारीका घटना दिनानुदिन बढ्दो
माघ १३, २०८० |अनिल मिश्र
मधेशमा १४ वटा छोटी भन्सार बन्द, उठेन लक्ष्यअनुसार राजश्व

जनकपुर । भारतसँग जोडिएको मधेश प्रदेशको ४ सय ६३ किलोमिटरको खुला सिमानामा अवैध निकासी-पैठारीका घटना बढेका छन् । ठाउँठाउँमा स्थापना गरिएका छोटी भन्सार बन्द रहेका कारण लक्ष्य अनुसार राजश्व सकंलन भएको छैन । यसमा सुरक्षाकर्मीको असहयोग भएको आरोप लागिरहँदा प्रहरीले बेलाबेलामा ठूलो परिमाणमा तस्करीका सामान जफत गरेर भन्सारलाई बुझाएको पनि छ ।

मधेश प्रदेशको महोत्तरीमा एक समय राजश्व संकलनका लागि मुख्य जलेश्वर भन्सारबाहेक भारतीय सीमा नाकामा ६ वटा छोटी भन्सार थिए । ती मध्ये पोखरभिन्डा, रघुनाथपुर, कटैया र बथनाहा छोटी भन्सार लामो समयदेखि बन्द छन् । तर, भारतीय बजारबाट सामान आयात भने रोकिएको छैन ।

मधेश प्रदेशका आठै जिल्लामा ९ वटा मुख्य भन्सारका अतिरिक्त २७ वटा छोटी भन्सार कार्यालय राखिएको थियो । सय रुपैयाँको सामान आयातमा समेत भन्सार तिर्नुपर्ने कानुन कार्यान्वयनमा छ, तर हाल १४ वटा छोटी भन्सार सञ्चालनमै छैनन् । चालु आर्थिक वर्षको पुस भित्र मधेश प्रदेशबाट १ खर्ब ५५ अर्ब ९९ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइए पनि ९८ अर्ब १३ करोड रुपैयाँ मात्र संकलन भएको भन्सार विभागले जनाएको छ । जुन लक्ष्यको ६३ प्रतिशत मात्रै हो ।

खुला सिमानाको फाइदा उदाउँठै व्यापारीहरूले भारतीय बजारबाट सामान ल्याउने क्रम निरन्तर छ । छोटी भन्सार नुहनाले यसरी खुद्रे व्यापारीले ल्याउने सामानको राजश्व उठ्न सकेको छैन भने भएका छोटी भन्सारमा पनि जनशक्ति अभाव छ । भन्सार कर्मचारीहरूले भने सुरक्षाकर्मीको असहयोगका कारण अपेक्षाकृत राजश्व उठ्न नसकेको गुनासो छ ।

सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले ६ महिनाभित्र २२ करोड ४१ लाख र नेपाल प्रहरीले ६७ करोड ३१ लाख रुपैया बराबरको सामान जफत गरेर भन्सारलाई बुझाएको छ । जुन वीगरगञ्ज सुख्खा बन्दरगाह र जलेश्वर बाहेक मधेश प्रदेशका ६ वटा भन्सारले उठाएको राजश्व भन्दा बढी हो ।

प्रहरीले यति ठूलो परिमाणको सामान भन्सारमा बुझाए पनि त्यसको तीन गुणाभन्दा बढी तस्करी हुने गरेको दाबी छ । नेपाल तर्फबाट प्रतिबन्धित गााजासँगै मदिरा, टुथपेस्ट, सौन्दर्यका सामाग्रीहरू चोरी निकासी हुन्छ भने भारतबाट दैनिक उपभोग्य सामग्री, स्पेयर पार्टस, लताकपडा, पानमसला सँगै सुर्तिजन्य पर्दाथको चोरी पैठारी हुादैआएको छ । घरायसी सामान किनमेल गर्न सहायक मार्गबाट भारतीय बजारमा पुग्ने नेपालीको संख्या पनि निकै ठूलो छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।