प्रज्ञा प्रतिष्ठानमा १२ देशका नृत्य तथा सांगीतिक प्रस्तुति...

फाल्गुन १९, २०८० |प्रकाश बम
प्रज्ञा प्रतिष्ठानमा १२ देशका नृत्य तथा सांगीतिक प्रस्तुति...

काठमाडौं । भूगोल र राजनीतिक सिमानाले न विविधतालाई रोक्छ, न संगीतलाई । संगीतको जादुले कसैलाई छेक्दैन, भाषा जुनै होस्, सबै रमाउन सक्छन् । शनिबारदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको १२ औँ अन्तर्राष्ट्रिय लोक संस्कृति मेला २०८० मा १२ देशका नृत्य तथा सांगीतिक प्रस्तुति भइरहेका छन्, जहाँ नेपालको थारु नाचदेखि  अस्ट्रिया सवाल्टर्न नृत्य प्रस्तुत भइरहेका छन् । 

कार्यक्रमको सुरुवात हुन्छ, काठमाडौं उपत्यकाको नेवार समुदायको सांस्कृतिक नाचबाट ।  त्यसपछि प्रस्तुत गरिने जर्मनीको लोक संस्कृतिसँग सम्बन्धित नृत्यले छुट्टै आनन्द दिन्छ । जर्मनीको नाचमा रमाइरहेका दर्शक एकै पटक इन्डोनेसियातिर पुग्छन् । १६ औँ शताब्दीदेखि चल्दै आएको अस्ट्रियाको नाचले दर्शकलाई पुरानो युगतिर फर्काउँछ । 

५ सय वर्षको  इतिहास बोकेको इस्टोनियाका कलाकारले ३ चरणमा फरक फरक नृत्य देखाए । मञ्चमा कहिले १६-१७ वर्षका किशोर किशोरी देखिए भने कुनै बेला ६०-७० वर्षका मानिस पनि जोसका साथ प्रस्तुत भए । 

विभिन्न मुलुकका नाचबीच नेपालका थारु समुदायको मगौटा नाचले विदेशी दर्शकलाई समेत रोमाञ्चित बनाउँछ । एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको मेला फागुन २७ सम्म चल्नेछ । जसमा छिमेकी भारतसहित मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका, बेल्जियमलगायत मुलुकका कलाकारहरूले नृत्य देखाइरहेका छन् । 

मेला काठमाडौंबाहेक दाङ, पोखरा र ललितपुरमा पनि चल्ने छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement