पोखरामा दशौं संस्करणको साहित्य महोत्सव, नीति निर्माणमा प्रभाव पार्ने अपेक्षा

पुस १०, २०७९ |ऋषिकान्त पौडेल
पोखरामा दशौं संस्करणको साहित्य महोत्सव, नीति निर्माणमा प्रभाव पार्ने अपेक्षा

पोखरा । पर्यटकीय नगरी पोखरामा दशौं संस्करणको लिटरेचर फेस्टिभल जारी छ । साहित्य सिर्जनामा लाग्ने पाठक र सुभेच्छुकका लागि त यो जमघट पर्वझै हुने भयो नै यहाँ चलिरहेका विविध पक्षका बहस र अन्तरसम्वादले मुलुकको नीति निर्माणमासमेत प्रभाव पार्नसक्ने अपेक्षा गरिएको छ ।

पोखराको फेवा किनारमा चलिरहेको लिटरेचर फेस्टिभलमा साहित्य अनुरागीको आकर्षण बढ्नु त स्वाभाविक भयो नै । मुलुकको वर्तमान अवस्था, अर्थतन्त्र, खेलकुद, विकासका सम्भावना र चुनौतीजस्ता विषयमा दिग्गजहरूसाग दिनदिनै भइरहेका बहस र अन्तरसम्वादले साहित्यइतरका व्यक्तिहरुलाई पनि फेस्टिभलले तान्ने गरेको छ । यससँगै लेखक, साहित्यकारहरूसँगको भेट र भलाकुसारी गर्ने थलोका रुपमा पनि यो फेस्टिभल सबैबाट स्वीकार्य हुँदैगएको छ ।

फेस्टिभल लगातार पाँचौ वर्षपनि पोखरामै आयोजित भइरहँदा पर्यटनका लागिमात्रै होइन साहित्य र सकारात्मक अन्तरक्रियाका लागि पनि पोखरा उपुयक्त गन्तव्य हो भन्ने स्थापित भएको छ ।

सन् २०११ देखि सुरु फेस्टिभलको यस संस्करणमा मुलुकको अर्थतन्त्र, खेलकुद, संगीत, साहित्यलगायतका विधासँगसम्बन्धित व्यक्तित्वहरुसँगका ५५ वटा बहस र अन्तरसम्वादका सत्र चलिरहेका छन् । यहाँ उठाइएका विषयले तात्कालिक प्रभाव नपारेपनि मुलुकको नीति निर्माण र विकासमा टेवा पुग्ने विज्ञको ठम्याइ छ ।

फेस्टिभलमा राष्ट्रिय महत्वका विषयका अतिरिक्त स्थानीय समस्या र सम्भावनाको पनि खोजी भइरहेको छ । आम नागरिकका गुनासो सुनाउँदै सरोकारवालाहरूलाई झक्झक्याउने प्रयास पनि फेस्टिभलले गरेको छ । तर छलफल उपल्लो तहमा केन्द्रित भइरहँदा दुर्गम स्थानको सम्भावना पनि उजागर हुनुपर्नेमा सहभागीको जोड छ ।

आगामी सोमबारसम्म चल्ने ६ दिने लिटरेचर फेस्टिभलमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका २ सयभन्दा बढी व्यक्तित्व अन्तरसम्वादमा जुटेका छन् । त्यसकारण पनि फेस्टिभलले उठाएका मुद्दालाई सरोकारवालाहरूले कुनै न कुनै रूपले सम्बोधन गर्छन् भन्ने अपेक्षा सहभागीको छ । 


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।