अलमलमा उपेन्द्र यादव : सरकारमै रहने कि बाहिरिने ?

वैशाख २६, २०८१ |अञ्जना लामिछाने
अलमलमा उपेन्द्र यादव : सरकारमै रहने कि बाहिरिने ?

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी गैरसंवैधानिक तबरले विभाजन गरिएको भन्दै न्यायका लागि अदालत जाने बताउनुभएको छ । यादवले अदालत जाने भनिरहँदा सरकारमा रहने कि बाहिरिने, र आफ्नो अबको राजनीति कसरी अघि बढाउने भन्ने अर्को चुनौती उहाँको सामुन्ने छ ।

प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपाललाई विभाजन गरी ७ जना सांसदसहित अशोक राईले छुट्दै दल दर्ता गरेपछि अध्यक्ष उपेन्द्र यादव आक्रोसित हुनुभएको हो । उहाँले निर्वाचन आयोगले कानुन विनै नयाँ दल दर्ता गरिदिएको आरोप लगाउनुभएको छ । पहिचान मधेसका मुद्दा र संघीयतालाई धरापमा पार्ने गरी गैरसंवैधानिक रुपमा दल विभाजन भएको भन्दै न्यायका लागि अदालत जाने भनिरहनुभएको छ ।

यतिमात्र होइन, आफैं उपप्रधानमन्त्री रहेको बेला आफ्नै प्रधानमन्त्रीले दल फुटाइदिएको स्वीकार गर्दा उहाँलाई पर्नु पीर परेको छ । र भनिरहनुभएको छ, यस्तै हो भने व्यवस्था नै रहँदैन । यादवले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर आफ्नो दल विभाजन गरिएको आरोप पनि लगाउनुभयो । 

प्रधानमन्त्री स्वयंले सत्ता जोगाउन आफैंले जसपा फुटाएको स्वीकार गरेकै दिन पत्रकार सम्मेलन गर्नुभएका अध्यक्ष यादवले सरकार भने छाड्नुभएको छैन । पार्टी निर्माणदेखि नै टुटफुटको लामो शृंखला भोगिसक्नुभएका यादव पछिल्लो फुटपछिको पत्रकारसम्मेलनमा निकै कमजोर र थकित भएको भाव भने अनुहार, आवाज र शरिरमा प्रष्ट देख्न सकिन्थ्यो । अब यादवका लागि वर्तमान सत्ता सहयात्रा यातनापूर्ण त रहने देखिन्छ नै, राजनीतिक भविष्य समेत धूमिल देखिन्छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।