हिमाल नियाल्ने पर्यटकको संख्या बढ्यो

पुस ७, २०८० |आनन्द गौतम
हिमाल नियाल्ने पर्यटकको संख्या बढ्यो

ताप्लेजुङ । हिमाल टाढैबाट हेरेको राम्रो- यो पुरानो भनाइ हो । तर पछिल्ला वर्ष हिमाललाई नजिकबाट नियाल्नेहरुको संख्या धेरै हुन थालेको छ । नेपालीको तुलनामा हिमाल हेर्न विदेशीहरु धेरै आउने गरेका छन् ।

आठ हजार ५ सय ८६ मिटर उचाईको विश्वको तेस्रो अग्लो हिमाल रहेको कञ्चनजंघा क्षेत्रमा ७ हजार मिटर माथिका ११ हिमाल छन् । स-साना हिमालको संख्या अनगिन्ती छन् । यिनै हिमालको दृश्यावलोकन गर्न र सुन्दरतामा रमाउन आउनेहरु फर्किएका छन् । यी क्षेत्र अब फागुन चैत महिनापछि मात्रै फेरि भरिन थाल्छन् ।

ताप्लेजुङकी होमस्टे सञ्चालक टाँसी शेर्पाले यो सिजन होमस्टे राम्रोसँग चलेको बताउँछिन् । विदेशीसँगै नेपाली पर्यटक पनि उत्तिकै आएको उनले बताइन् ।

हिमालमा पैदलै जाने र यातायातका साधन प्रयोग गर्नेको संख्या फरक-फरक हुन्छ । ताप्लेजुङमा भने कञ्चनजंघा क्षेत्रमा पदयात्राको विकल्प छैन । यही यात्रामा रमाउनेहरु बेस क्याम्पसम्म पुग्छन् र फर्कन्छन् । हिमालको अलावा हिमाली क्षेत्रको जनजीवन, नदी, झरना, पोखरी नजिकबाट नियाल्ने गरेका छन् । यात्राको क्रममा कतिपयले सन्तुष्टि जनाउँछन् भने गुनासो गर्नेहरु पनि नभेटिने होइन ।

घरमा बस्ने, आफैँ टेण्ट र सहयोगी ल्याएर बस्ने आआफ्नो रोजाइका पर्यटक कञ्चनजंघा क्षेत्रमा भेटिन्छन् । उनीहरुको सहयोगका लागि स्थानीयले होटलदेखि होमस्टेसम्म चलाएका छन् ।

कञ्चनजंघा क्षेत्रको तथ्यांकअनुसार यो क्षेत्रमा एक सिजनमा ७ सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । असोज कार्तिक र चैत बैशाख गरी दुई सिजन चल्ने गरेको छ । उनीहरुले ल्याउने नेपाली सहयोगीसमेत गर्दा सिजनको समयमा हिमाली क्षेत्र भरिभराउ हुने स्थानीय बताउँछन् । 


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।