
काठमाडौं । न्युजिल्यान्डका खेलाडी जेम्स निसमले नेपाल प्रिमियर लिग, एनपीएल क्लब पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै आलोचना गरेपछि पोखराले उनको रकम आफ्नो कारणले नभय प्रक्रियागत समस्याले ढिलाइ भएको स्पष्टीकरण दिएको छ ।
सामाजिक सञ्जालमा गरेको पोस्टमा कमेन्ट गर्दै निसमले खेलाडीको पारिश्रमिक देउ भनेपछि अहिले सामाजिक सञ्जालमा पोखराको आलोचना भइरहेको छ। गएराति भारको अहमदाबादमा भएको टी-२० विश्वकप फाइनलमा जेम्स निसमले आफ्नो १६ औं ओभरमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले ६ बलमध्ये तीन विकेट लिएका थिए भने एक रन मात्रै प्रदान गरेका थिए। यसअघि पोखराबाटै एनपीएल खेलेका निसमका लागि पोखराले उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बधाइ दिएको थियो। त्यही पोस्टमा निसमले आफ्ना खेलाडीलाई पारीश्रमिक देउ भन्ने कमेन्ट गरे। निसमको कमेन्टमै समर्थकले ओभरसिज खेलाडीलाई पारीश्रमिक नदिएर पोखराले खेलाडीको सम्मान नगरेको प्रतिक्रिया दिएका छन्।
यता पोखराले भने नेपाल राष्ट्र बैंकको झन्झटिलो प्रक्रियाले रकम भुक्तानीमा ढिलाइ भएको कान्तिपुरलाई जानकारी दिएको छ। पोखराका निर्देशक किरण रानाले राष्ट्रिय खेलकुद परिषद्ले पनि कागजी प्रक्रियामा ध्यान नदिएको र राष्ट्र बैंकको प्रक्रियागत ढिलाइले उनको पारीश्रमिक भुक्तानीमा बिलम्ब भएको बताए।
पोखराका मालिक सुबोध त्रिपाठीले आफूसँग निसम लगातार सम्पर्कमै रहेको तर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव परिवर्तन तथा रकम विदेश पठाउन हुने झन्झटका कारण समयमै पैसा दिन नसकिएको पोखराको भनाइ छ। उनीसँगै बाँकी विदेशी खेलाडीको पनि भुक्तानी बाँकी रहेको छ।
यता, नेपाल क्रिकेट संघले यो वर्ष पहिलो संस्करणको जस्तो लामो भुक्तानी प्रक्रिया नहुने क्लबलाई आश्वास्ता पारेको थियो। अर्कोतर्फ, बैंकले पहिलो संस्करणको सबै प्रक्रिया पुनः गर्नुपर्ने भनेपछि फाइल परिषद्मा अडि्कएकाले चाँडै काम नभएको त्रिपाठीले बताए । भुक्तानीका लागि अझै दुई हप्ता लाग्ने उनको भनाइ छ।