आईपीएलमा मुम्बईलाई हराउँदै लखनउ तेस्रो स्थानमा उक्लियो

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा मुम्बईलाई हराउँदै लखनउ तेस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा लखनउ सुपर जायन्टसले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । लनखउको जीतमा मार्कस स्टइनिसले अर्धशतक प्रहार गरे ।

एकाना स्टेडियममा लखनउले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा उत्रिएको मुम्बईलाई लखनउका बलरले उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा ७ विकेट लिँदै १ सय ४४ रनमा रोकेका थिए । हार्दिक पान्ड्याको टोलीले पावर प्लेमा क्षतिमा बेहोर्‍यो । ५ दशमबल २ ओभरमा टिमको स्कोर २७ रन हुँदा मुम्बईका ४ ब्याटर पवेलियन फर्किएका थिए । 

रोहित शर्मा ४, सूर्यकुमार यादव १० र तिलक बर्मा ७ रनमा आउट भए । पान्ड्या नभिन उलहकको बलमा गोल्डेन डक आउट भएका थिए । इशान किशनले ३२ र नेहाल वाधेराले सर्वाधिक ४६ रन बनाएका थिए । टिम डेविड ३५ रनमा अविजीत रहे । मोहसिन खानले २ विकेट हात पारे । 

जवाफमा लखनउले १९ दशमबल २ ओभरमा ६ विकेटको नोक्सानिमा लक्ष्य पूरा गर्‍यो । ओपनर आर्शिक कुलकर्णी खाता खोल्न नपाउँदै नुवान थुसाराको बलमा आउट भएका थिए । दोस्रो विकेटका लागि कप्तान केएल राहुल र स्टइनिसले ५८ रनको साझेदारी गरे । राहुलले २८ रन जोडे । दिपक हुड्डा १८ रनमा मैदान बाहिरिए । स्टइनिसले ४५ बलमा ६२ रनको योगदान दिएपछि लखनउले जीत हात पारेको हो । 

निकलस पुरनले १४ रन बनाउँदै म्याच फिनिस गरे । पान्ड्याले दुई विकेट लिए । जारी सिजन १० खेलमा छैटौं जीत हात पारेको लखनउ १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । सातौं हार बेहोरको मुम्बईको ६ अंक छ । आईपीएलमा आज चेन्नाई सुपर किंस र पञ्जाव किंसबीच खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.