नेपालले टी-ट्वेन्टी विश्वकपमा कस्तो टिम उतार्ला? अन्य देशको तयारी कस्तो?

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले टी-ट्वेन्टी विश्वकपमा कस्तो टिम उतार्ला? अन्य देशको तयारी कस्तो?

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकपको टिम घोषणा गर्ने बुधबार अन्तिम दिन हो। न्युजिल्यान्ड, इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिकाबाहेक अन्य देशले अहिलेसम्म टिम घोषणा गरेका छैनन् । त्यसैले पनि बुधबारको दिन विश्व क्रिकेटमा टिम घोषणाका हिसाबले निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

एक महिनापछि अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वेन्टी क्रिकेट विश्वकपका लागि बुधबार राति सवा १० बजेसम्ममा टिम घोषणा गरिसक्नु पर्नेछ। तर, अहिले टी-ट्वेन्टी क्रिकेटको बदलिँदो परिस्थितिका कारण धेरै देशलाई टोली घोषणा गर्न चुनौती छ । 

भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)मा यो वर्ष देखिएको फरक नतिजाले धेरैलाई आश्चर्यचकित बनाएको छ । एकै टिमले एक इनिङमा झन्डै ३ सय रन बनाएका छन् । २ सयभन्दा ठूला लक्ष्य ब्याट्समेनले सहजै भेट्टाइरहेका छन् । यसकारण उपाधि जित्ने लक्ष्यसाथ विश्वकप खेल्ने इंग्ल्यान्ड, अष्ट्रेलिया, भारत र पकिस्तानजस्ता देशलाई कस्ता बलर राख्ने भन्नेमै अन्योल बढेको छ । आईपीएल नसकिँदै टिम घोषणा गर्नुपर्ने भएपछि दबाबका बीचमा नै भारतका सेलेक्टरले टिम बनाएका छन् । सुभ्मन गील र रिन्कु सिंहजस्ता खेलाडी नै वैकल्पिक खेलाडीमा छन् । युजवेन्द्र चाहल र ऋषभ पन्तले टिममा कमब्याक गरे । इंग्ल्यान्डले पनि मंगलबार टोली घोषणा गर्‍यो ।

फास्ट बलर मोहम्मद अमिरले सन्यास फिर्ता लिएपछि पाकिस्तान बोर्डले विश्वकपकै प्रारम्भिक टोलीमा बोलाएको छ । सहआयोजक वेस्ट इन्डिजको टोली लगभग तयार छ । उसको ए टोलीले अहिले काठमाडौंमा नेपालसँग सिरिज खेलिरहेको छ । यहाँ गरेको प्रदर्शनबाट उसले विश्वकपमा खेलाडी छनोट गर्न सक्नेछ ।

भर्खरै मात्र २३ जनालाई केन्द्रीय सम्झौतामा राखेको अष्ट्रेलियाले भने त्यही २३ जनाबाट विश्वकप खेल्ने खेलाडी छनोट गर्नेछ । उसले भारतविरुद्धको सनसनीपूर्ण फाइनल खेलमा एक लाखभन्दा धेरै दर्शकलाई स्तब्ध पार्दै क्रिकेट विश्वकप जितेको थियो । अष्ट्रेलियाका एडम जाम्पा, ट्रेभिस हेड, डेविड वार्नर, ग्लेन म्याक्सवेललाई रोक्न कस्ता बलर र ब्याटर प्रयोग गर्नुपर्ला, यो धेरैको चिन्ताको विषय त छँदैछ । 

उपाधि जित्ने टिम भन्दै दक्षिण अफ्रिकाले मंगलबार १५ सदस्यीय टोली घोषणा गर्‍यो । उसले एनरिच नोर्कियालाई टिममा फर्काएको छ भने रियन रिकेल्टन र ओटेनिल बार्टम्यान पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले बनाएको टोली नेपालका लागि पनि चासोको विषय हो ।

नेपालकै समूहको श्रीलंका र अफगानिस्तानको ए टिमले आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । श्रीलंकामा त घरेलु प्रतियोगिता भइरहेको छ । अहिलेसम्म घरेलु प्रतियोगितामा व्यस्त बंगलादेशले जिम्बावेसँगको पाँच खेलको टी-ट्वेन्टी आई सिरिजबाट विश्वकप तयारी गर्न लागेको छ । टिम बन्द प्रशिक्षणमा भए पनि अन्तिम टोली सार्वजनिक गर्न बाँकी छ ।

यता, नेपालले पनि अहिलेसम्म टोली घोषणा गरेको छैन । विश्वकपका लागि टिम घटाउँदै लैजानुपर्नेमा अहिले नेपाली टोलीमा २० खेलाडी छन् । वेस्ट इन्डिज एसँगको बुधबारको खेल नै नेपाली टोली निर्धारणको अन्तिम आधार बन्नेछ। 

नेपालकै समूहमा रहेको नेदरल्यान्ड्सले पनि टिम घोषणा गर्न बाँकी छ । सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको नाम आईसीसीलाई पठाइसकेको छ । सोही अवसरमा उसले आफ्नो टी-ट्वेन्टी विश्वकपको जर्सी पनि सार्वजनिक गरेको थियो । बाँकी १६ देशले कस्तो टिम लिएर विश्वकप खेल्न जालान् त्यो हेर्न बाँकी नै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.