काठमाडौं । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मीमाथि पाँच सेटको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि एपीएफको फाइनल पुग्ने सम्भावना बलियो बन्यो ।
आर्मीले एपीएफको दुई-शून्य सेटको अग्रता उल्ट्याएको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन एपीएफले आर्मीलाई पहिलो र दोस्रो सेट २५-२३ र २५-२३ ले हराए पनि तेस्रो सेट भने आर्मीलाई सुम्पिन पुग्यो ।
तेस्रो सेटको सुरुवाती अवस्थादेखि नै कम्ब्याक गरेको आर्मीले एक समय ६-१२ अंकले अग्रता बनाउँदै एपीएफलाई दबाबमा राखेको थियो । त्यही अग्रतालाई कायम राख्दै आर्मीले एपीएफमाथि २५-१३ को जित निकाल्न सफल भयो ।
चौथो सेटमा पनि अर्मी कडा रुपमा प्रस्तुत हुँदा एपीएफलाई २५-१४ ले पाखा लगायो । पाँचौं तथा अन्तिम सेटमा भने एपीएफ पुन: खेलमा फर्कियो । उसले आर्मीलाई सहजै १५-९ ले हराएको हो ।