बेहाल रंगशालाका कारण देशकै बेइज्जत, न बोले सांसद न बोल्यो सरकार

फाल्गुन १९, २०८० |सविना कार्की
बेहाल रंगशालाका कारण देशकै बेइज्जत, न बोले सांसद न बोल्यो सरकार

काठमाडौं । सबभन्दा पहिले यो समाचारको हेडलाइन सुन्नुहोस्- फिफा विश्वकप छनोटअन्तर्गत बहराइनसँगको होम गेम दशरथ रंगशालामा नहुने । कस्तो लाग्यो ? कमेन्टमा लेख्नुहोस् । बुझ्नुभएन भने कान्तिपुर टेलिभिजनमै प्रसारित समाचारको अंश हेर्नुहोस् ।

अब बुझ्नुभयो ? कस्तो लाग्यो ? अब भने कमेन्ट गर्न सजिलो होला । मेरो नाम सबिना कार्की हो र म खेलकुद पत्रकार हुँ । हरेक खेलप्रेमीलाईं झैं मलाई पनि अघि मैले आफैंले सुनाएको समाचार तितो लागेको छ । हुन त शुक्रबार अर्को समाचारले तपाईंलाई जस्तै मलाई पनि खुसी बनाएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार चार खेलको हारमा ब्रेक लगायो । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेपछि तपाईं हामी खुसी भयौं । तर त्यसको केही समयमै आएको यो समाचारले हामीलाई गिज्याएको छ ।

दशरथ रंगशालामा हुने भनिएको बहराइनसँगको त्यो खेल किन नहुने भएको हो ? कारण गम्भीर छ । रंगशालाको गुणस्तर विश्वकप छनोट खेल्ने स्तरको भएन । त्यसकारण यो खेल अब नेपालमा नहुने भयो ।

यसै त प्रतियोगिता नहुँदा नेपालमा फुटबल गतिविधि शून्यजस्तै छ । बल्लबल्ल घरेलु मैदानमा राष्ट्रिय टिमको खेल हेर्न पर्खिएर बसेका समर्थकलाई यो समाचारले स्तब्ध बनाउने नै भयो ।

शुक्रबारै मुख्य प्रशिक्षक भिन्चेन्सोले बहराइनसँगको खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाए । उनले खेलाडीको नाम सार्वजनिक गरेको केही घण्टामै अखिल नेपाल फुटबल संघले बहराइन नेपाल नआउने आधिकारिक घोषणा गर्‍यो । एसियाली फुटबल महासंघ एएफसीले, एन्फालाई पत्र पठाउँदै नेपाल र बहराइनबीचको पहिलो लेगका लागि न्युट्रल भेन्यु व्यवस्थापन गर्न भनेको छ ।

बहराइनले नेपाल नआउने यसै भनेको होइन । पहिले बहराइटनको टिम नेपाल आयो । नेपाल आएर उसले दशरथ रंगशालाको निरीक्षण गर्यो । अनि बल्ल उसले मैदानको गुणस्तरमा प्रश्न उठायो । कुरा त्यतिमा रोकिएन । एएफसी प्रतिनिधि मिन्दु दोर्जेले रंगशालाको निरिक्षण गरे र रिपोर्ट बुझाए । त्यो रिपोर्टले भन्यो- दशरथ रंगशाला खेल आयोजनाका लागि योग्य छैन । फेरि भनौं, रिपोर्टमा भनियो- दशरथ रंगशाला खेल आयोजनाका लागि योग्य छैन । त्यही रिपोर्टका आधारमा हो, एएफसीले एन्फालाई पत्र पठाएको ।

दोष कसको त ? एन्फा र राष्ट्रिय खेलकुद परिषद् एक-अर्काको आरोप-प्रत्यारोपमा उत्रिएका छन् । एन्फा भन्छ, परिषद्‌लाई समयमै जानकारी गराएको हो, परिषद् भन्छ- हामीलाई थाहा छैन ।

एन्फा र परिषद्‌ जति नै दोष एक-अर्कोतिर फर्काउन्, क्षति आखिर कसलाई भयो ? नेपाली फुटबललाई ।

दशरथ रंगशालामा पछिल्लोपटक नेपाल सुपर लिगको फाइनल खेल भएको थियो । त्यो पुस १४ गते थियो । त्यही मैदानमा गत साता रग्बीको क्लब च्याम्पियनसिप भयो । त्यसपछि मैदान तयारीका लागि समय पुगेन । परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङ रग्बी संघका पूर्वअध्यक्ष पनि हुन् ।

घरेलु मैदानमा खेलाडीले उच्च मनोबलका साथ खेल्छन् । अबेमा पराजित भए पनि होममा नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना उच्च हुन्छ । होम गेम अन्य देशमा गएर खेल्नु भनेको नतिजा सुम्पनु जस्तै हो । कतार विश्वकप २०२२ को छनोटअन्तर्गत कुबेतसँगको खेल पनि रंगशाला निर्माणाधीन रहेकाले नेपालले भुटानमा खेलेको थियो ।

नेपालमा फुटबलको क्रेज भनिरहन पर्दैन । वाफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले जोर्डनसँग फाइनल खेल्दा युट्युवमा चार लाखभन्दा बढी दर्शकले हेरेका थिए । रंगशालामा खेल हुँदा टिकट नपाएर समर्थक फर्किन्छन् । तर सन् १९८५ मा पहिलोपटक घरेलु मैदानमा विश्वकप छनोट खेलेको नेपालसँग २०२४ मा आइपुग्दा पनि गतिलो रंगशाला छैन ।

बारम्बार मैदान नभएकै कारण खेल गुमाउनु देशकै लागि लज्जाको विषय हो । सरकारले खेलकुद पूर्वाधार निमार्णमा चासो नदिँदा दशरथ रंगशालाको विकल्प नेपालसँग छैन । सरकार, खेलकुद पूर्वाधारमा लगानी गरे कराडौं आम्दानी गर्न सकिन्छ भन्ने बुझ्दै बुझ्दैन । संसद्‌मा खेलकुदका मुद्दाले प्रवेश नै पाउँदैनन् । कुनै पनि खेलमा नेपालले जित हासिल गर्दा फेसबुक र एक्स (पहिला ट्विटर) मा बधाई र शुभकामना दिन हतार गर्ने नेता र सांसदहरु खेलकुदका समस्या संसद्‌मा उठाउन किन सक्दैनन् ? सरकारलाई सुनाउन किन सक्दैनन् ? मैले 'सांसद' मात्र भन्दा तपाईंलाई ननिको लाग्यो होला । लौ माननीय सांसदज्यूहरु, गोल हुँदा ताली बजाउन मात्र होइन, गोल हान्न तम्तयार खेलाडीको मनोबल गिरेको बेला संसद्‌को टेबल बजाउन पनि तपाईंहरुले जोड लगाउनुपर्‍यो ।

अब एउटा सजिलो उपायको कुरा पनि गरौं ।

फिफा र एएफसीबाट आउने रकम सही ठाउँमा सदुपयोग गरे एन्फाले पनि आफ्नै रंगशाला बनाउन सक्छ । घरेलु मैदानमा हुने खेलको ब्रोडकास्ट राइट्स एन्फाले सिंगापुरको कम्पनीलाई दिएको छ । अब नेपालमा खेल नभएपछि एन्फाले यो रकम गुमाउनेछ । त्योभन्दा बढी त राष्ट्रिय टिम आफ्नो मैदानमा खेल्ने सुनौलो अवसरबाट वञ्चित भएको छ । आफ्नै मैदानमा खेल हुँदा आर्थिक उपार्जनका अरु थुप्रै उपाय पनि हामीले गुमाउनेछौं ।

उसै त हाम्रा फुटबल खेलाडीहरु धमाधम विदेश उडिरहेका छन् । राष्ट्रिय टिमबाट खेल्नसमेत भरपर्दा खेलाडीहरु टिममा भित्र्याउन कठिन भइरहेको छ । राम्रा खेलाडीहरु राष्ट्रिय टिमबाट खेल्नै रुचि देखाइरहेका छैनन् । यसबारे दुई दिनअघि फागुन १६ गते गरेको रिपोर्टिङ युट्युबमै छ । 

हेर्नको लागि युट्युब लिङ्क यहाँ छन्:

एन्फा खेलभन्दा चलखेलमा रम्दा खेलाडी पलायनको श्रृंखला

राष्ट्रिय फुटबल टिमका लागि खेलाडी पाउनै मुस्किल

पढ्न इच्छा हुनेका लागि Kantipurtv.com मा पनि विस्तृत रुपमा प्रकाशित छ । 

पढ्नको लागि लिङ्क यहाँ छन् : 

ओरालो लाग्दै नेपाली फुटबल, एन्फा खेलभन्दा चलखेलमा व्यस्त

खेलाडी पलायनको अत्यासलाग्दो शृङ्खला

यस्तै समयमा रंगशाला खराब भएकै कारण आफ्नै मैदानमा हुने तय भएको खेल बाहिर गएर खेल्नुपर्ने समाचार सुन्दा पढ्दा र भोग्दा हाम्रा खेलाडीको मनस्थिति कस्तो होला ? यी प्रश्नको जवाफ कसले दिने ?

तपाईंसँग छन् भने कमेन्टमा लेख्नुहोस् । नमस्ते ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।