दंगलमा मंगल ! (फोटो फिचर)

तिलाठीमा नेपाल-भारत कुस्ती प्रतियोगिता
फाल्गुन ७, २०८० |आरएन विश्वास
दंगलमा मंगल ! (फोटो फिचर)

सप्तरी । कुस्ती अर्थात् दंगल । यो खेल नेपालभन्दा भारतमा बढी प्रख्यात छ । तर भारतीय सीमा क्षेत्रका जिल्लामा बेला बेलामा कुस्ती खेल हुने गरेको छ । अहिले सप्तरीको तिलाठीमा आयोजना भएको साताव्यापी मेलामा आयोजित नेपाल-भारत दुईदेशीय कुस्ती प्रतियोगिताले मेलाको रौनक नै बढाइदिएको छ ।

कुस्तीबाजहरुको कलाकौशल हेर्न तिलाठीमा आयोजित सहिद शाकेतचन्द्र मिश्र स्मृति कुस्ती प्रतियोगिता हेर्न दिनहुँ सयौं दर्शक पुग्ने गरेका छन् । कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न जिल्लाका कुस्तीबाज सहभागी छन् । उनीहरुले दर्शकलाई भरपुर मनोरञ्चन दिइरहेका छन् । कुस्तीमा नेपाल प्रहरीका कर्मचारीदेखि किसानसम्मको सहभागिता रहेको सप्तरीका पूर्वकुस्तीबाज नवनीत झा बताउँछन् ।

मनोरञ्जनका लागि भएपनि पछिल्लो केही समययता सप्तरीको विभिन्न ठाउँमा कुस्ती आयोजना भइरहेका छन् । भारतमा आयोजना हुने कुस्ती प्रतियोगिताहरुमा उत्कृष्ट गर्नेलाई सुरक्षा निकाय र रेल्वेमा जागिरसमेत हुने गरेको छ । ‘भारतमा कुस्ती खेलेपछि रेल, पुलिस, सेनामा जागिर पाइन्छ । त्यसैले हामी भारतमा कुस्ती खेल्छौं,’ भारत मध्यप्रदेशका कुस्तीबाज बाबानायक पहलवान भन्छन् ।

तर नेपालका कुस्तीबाजलाई सरकारीस्तरबाट यस्तो कुनै किसिमको सुविधा नभएको नेपाली पूर्वकुस्तीबाज झाको गुनासो छ ।

यस्तै भारतको हाजिपुरबाट आएका कुस्तीबाज अजितकुमार यादव भन्छन्, ‘शरीरलाई स्वस्थ्य बनाएर राख्ने भएकाले कुस्ती खेल्छौं ।’

कुस्तीबाजहरु कुस्तीलाई स्वास्थ्यका दृष्टिकोणले पनि विद्यालय स्तरबाटै लागु गर्नुपर्ने आवश्यकता भएको बताउँछन् ।

व्यक्तिगत सोख र मनोरञ्जनका लागि खेलिने कुस्ती खेललाई भारतजस्तै नेपालमा पनि व्यावसायिक रुपमा अघि बढाइयो भने कुस्तीबाजको संवर्धनसँगै खेलमार्फत अन्तरार्ष्ट्रिय जगत्‌मा नेपालको पहिचान थप बढ्ने थियो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।