निर्माणै सम्पन्न नभएको रंगशालामा प्रतियोगिता सञ्चालनको तयारी

माघ १०, २०८० |बालकृष्ण अधिकारी
निर्माणै सम्पन्न नभएको रंगशालामा प्रतियोगिता सञ्चालनको तयारी

हेटौँडा । यस वर्षको सहिद स्मृति गोल्डकप प्रतियोगिता हेटौँडा-६ गौरीटारमा बनिरहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको रंगशालामा हुँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेन्डरमा रहेको यो प्रतियोगिता माघ १६ गतेबाट सञ्चालन हुनेछ । प्रतियोगिता सुरु हुनुअघि रंगशालाको काम तीव्र गतिमा भइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न २०६६ सालमा निर्माण थालिएको यो प्रतिष्ठानले पर्याप्त बजेट नै पाएन । राष्ट्रिय खेलकुद परिषद्ले २ अर्ब ५० करोडको लागतमा पाँच वर्षभित्रै बनाई सक्ने लक्ष्यका साथ सुरु गरेको यो आयोजना संघीय सरकार र राखेपकै प्राथमिकतामा नपर्दा १४ वर्षमा पनि बन्न सकेन ।

प्रदेश सरकारले रंगशाला निर्माणका लागि छुट्याएको ६ करोड रुपैयाँबाट चौर निर्माण भइसकेको छ । रिटेनिङ वाल, रनिङ ट्रयाक र भिआईपी प्याराफिट निर्माणको काम १३ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई कोसी-सप्तकोसी-ओमसाईजेभीले बनाइरहेको छ । निर्माण सम्पन्न भई नसकेको रंगशालामा किन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो त ?

प्रतिष्ठान शिलान्यास भएर वर्षौंसम्म पनि काम नहुँदा निर्माण हुने हो कि होइन भन्ने अन्यौलका बीच रंगशालाको काम भइरहँदा उत्साहित बनेका यस क्षेत्रका खेल प्रेमीहरुले प्रतियोगिता सञ्चालनका लागि आयोजकलाई स्वयंसेवीका रूपमा सहयोग गरिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ साल जेठ २८ गते प्रतिष्ठानको शिलान्यास गरेका थिए । फुटबल, भलिबल, क्रिकेट मैदान, स्विमिङ पुल, होस्टल, प्रशासनिक भवनलगायतको संरचना निर्माण गर्ने योजना छ । ब्वाइज होस्टेल, कम्पाउन्ड वाल, गेट, २ वटा कर्भड हल र फुटबल मैदानसमेत गरेर हालसम्म २५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रदेश खेलकुद विकास परिषद्मार्फत खर्च हुने गरी यस वर्ष स्विमिङ पुल बनाउन ३ करोड र क्रिकेट मैदान बनाउन ४ करोड रुपैयाँ छुट्याइएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।