विश्वकप : स्पेन र जर्मनीबीच १ – १ को रोमाञ्चक बराबरी

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
 विश्वकप : स्पेन र जर्मनीबीच १ – १ को रोमाञ्चक बराबरी

दोहा । फिफा विश्वकप समूह चरणको खेलमा स्पेन र जर्मनीले एक – एक गोलको रोमाञ्चक बराबरी खेलेका छन् । निकलस फुलक्रुगले जर्मनीलाई महत्वपूर्ण अंक दिलाएका हुन् ।

समूहको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेपछि जर्मनीले नकआउट पुग्न सक्ने लाइफलाइन पाएको थियो । कतारको दोहास्थित अल बायत रंगशालामा पहिलो हाफ दुवै टिम डेडलक तोड्न असफल भए । डेनी अल्मोको प्रहार जर्मन गोलकिपर म्यानुएल न्योरले बचाएका थिए ।

४० औँ मिनेटमा जर्मनीका एन्टोनियो रुडिगले गोल गरेपनि मान्यता पाएन । ६२ औँ मिनेटमा स्पेनले अल्भारो मोराटाको गोलमार्फत अग्रता लियो । ५४ औँ मिनेटमा फरान टोरेसको स्थानमा मैदान प्रवेश गरेका मोराटाले डेनी आल्बाको क्रसमा गोल गरेका थिए । तर लुइस इनरिकेको टोलीले अन्तिम समयसम्म अग्रता जोगाउन सकेन ।

८३ औँ मिनेटमा निकलसले बराबरी गोल फर्काउँदै जर्मनीलाई हारबाट जोगाए । अन्त्यमा लियोरी सानेले टिमका लागि दोस्रो गोल गर्ने अवसर पाएका थिए, तर सफल भएन । यो नतिजापछि समूह ‘इ’ बाट चारै टिमको अन्तिम १६ मा पुग्ने बाटो खुला भएको छ । स्पेन दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

समान तीन अंक बटुलेका जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छन् । एक अंकसहित जर्मनी पुच्छारमा छ । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई पराजित गर्नु पर्नेछ । यसका बाबजुत जर्मनीको भविष्य जापान र स्पेन बीचको खेलको नतिजामा पनि भर पर्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.