एमालेले फिर्ता लियो सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेले फिर्ता लियो सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन आज फिर्ता लिएको छ ।

सोडारी नेतृत्वको सरकारमा सहभागी एमालेका तीन मन्त्रीले पनि आजै राजीनामा दिएका छन् । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पाल, वन वातावरण तथा सहकारीमन्त्री वीरबहादुर थापा र आन्तरिक मामिलामन्त्री हीरा सार्कीले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री सोडारी काठमाडौं भएका कारण मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र मुख्यमन्त्रीको सचिवालयमा राजीनामा पत्र र समर्थन फिर्ता लिएको पत्र बुझाइएको छ ।

यसैबीच एमालेले सरकार अब अल्पमतमा परिसकेकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । नयाँ सरकार गठनका लागि छलफल अघि बढिसकेको र छिटै सरकार गठन हुने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जनाउनुभयो ।

लुम्बिनीमा एमालेका मन्त्रीको राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पनि पास नगर्दै एमालेले राजीनामा दिएपछि बजेट अलपत्र परेको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले राजीनामा दिँदै सरकार अल्पमतमा परिसकेकोले बजेट पारित हुन नसक्ने भन्दै अब अध्यादेशमार्फत नयाँ बजेट ल्याइने बताउनुभयो । यसअघि रातो किताब नआउँदै बजेटको ई-कपी सार्वजनिक भएको विषयमा छानबिन समिति गठन हुने उहाँको भनाइ छ ।

एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ समूह र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ६ गते समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । नयाँ बनेको गठबन्धनमा कांग्रेसका १८ र एमालेका ११ गरी २९ जना भएकाले सहजै सरकार बन्नेछ । सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार बन्ने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.