लुम्बिनी प्रदेशका विषयगत समितिमा क-कसको पर्‍यो उम्मेदवारी ?

वैशाख ४, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनी प्रदेशका विषयगत समितिमा क-कसको पर्‍यो उम्मेदवारी ?

दाङ । भोलि हुने लुम्बिनी प्रदेशका ६ विषयगत समिति र १ विशेषाधिकार समितिका सभापतिको निर्वाचनका लागि ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ताको समय बेलुका ५ बजेसम्म भए पनि दलहरूका बीच सहमति कायम गरी विषयगत समितिको भागबन्डा गरिएकाले अन्य उम्मेदवारी नपर्ने नेपाली कांग्रेसका सचेतक निमा गिरीले बताइन् । 

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक, भौतिक पूर्वाधार विकास समितिमा रामजी प्रसाद घिमिरे, अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिमा माया पुन र विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपानेको उम्मेदवारी परेको छ । 

प्रदेशसभा सचिव पुनका अनुसार ६ वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यसपटकदेखि नयाँ व्यवस्था गरिएको हो । बेलुका ५ बजे उम्मेदवारी मनोनयनको समय सकिएपछि जेष्ठ प्रदेशसभा सदस्यको अध्यक्षतामा विषयगत समितिको बैठक बस्ने र निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताइएको छ ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरुबीच एमालेले विषेशाअधिकार सहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २ वटा समिति र माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व गर्ने सहमति गरेका थिए । 

गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यहरूको टुंगो लगाए पनि समितिको सभापतिको टुंगो भने १७ महिना सम्म लाग्न सकेको थिएन । २०९७ मंसिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिँदा पनि मिनी संसदको रुपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा सदस्यहरु बिजनेसविहीन जस्तै बनेका थिए ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement