अस्थिर बने सातै प्रदेशका सरकार, अब हटोस् दलहरुको मनपरी

प्रदेशमा सरकार गठन र विघटनको खेल
वैशाख १, २०८१ |बालकृष्ण अधिकारी
अस्थिर बने सातै प्रदेशका सरकार, अब हटोस् दलहरुको मनपरी

हेटौंडा । संघीय गठबन्धनमा फेरबदल आउनेबित्तिकै सातवटै प्रदेशको राजनीति अस्थिर हुने गरेको छ । बितेको वर्ष प्रदेशसभाहरु सरकार गठन र विघटनमै केन्द्रित भए । अब विगतमा भएका कमजोरी सुधार गर्दै नयाँ वर्षमा प्रदेशहरुको अस्थिरता हटाउनुपर्ने जिम्मेवारी दलहरुको छ ।

प्रदेशसभाको अघिल्लो पाँचवर्षे कार्यकालमा कोशी प्रदेशमा तीनजना मुख्यमन्त्री फेरिए भने ३४ जना मन्त्री बने । दोस्रो कार्यकालको १५ महिनाभित्रै कोशीमा अहिलेसम्म पाँचपटक सरकार फेरबदल हुँदा तीनजना मुख्यमन्त्री बनिसकेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मत कार्की दुईपटक र नेपाली कांग्रेसका उद्धव थापा दुईपटक मुख्यमन्त्री भए । अहिले कांग्रेसकै केदार कार्की मुख्यमन्त्री छन् । उनलाई मुख्यमन्त्रीबाट हटाउन गठबन्धन दल सक्रिय छन् । राजनीतिक दलहरुको अस्थिर चरित्रका कारण कोशीमा पटकपटक सरकार गठन र विघटन हुने गरेको हो । अब नयाँ वर्षमा राजनीतिक स्थायित्व कायम गरी विकासमा लाग्ने चेत दलहरुमा आउनुपर्ने राजनीतिक विश्लेषक दीपेश बास्तोला बताउँछन् ।

मधेश र सुदूरपश्चिम प्रदेशमा अघिल्लो कार्यकाल लालबाबु राउत र त्रिलोचन भट्ट पाँच वर्ष नै मुख्यमन्त्री बने । अहिले मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरोजकुमार यादव मुख्यमन्त्री छन् । मधेश प्रदेशमा सरकारको नेतृत्व परिवर्तन नभए पनि गठबन्धन फेरबदलसँगै मन्त्रीहरु भने परिवर्तन भइरहेका छन् ।

अघिल्लो कार्यकालमा स्थिर देखिएको सुदूरपश्चिम प्रदेशको राजनीति यो कार्यकालमा अस्थिर देखिएको छ । अघिल्लो कार्यकाल पुरै अवधि मुख्यमन्त्री बनेका भट्टले दुईपटक विश्वासको मत लिए ।

प्रदेश सभाको दोस्रो कार्यकालमा राजेन्द्र रावल पहिलोपटक मुख्यमन्त्री बने पनि उनले विश्वासको मत लिन नपाउँदै गठबन्धन फेरिएपछि राजीनामा दिए । ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले १४ महिना नेतृत्व गरे । अहिले उनी काम चलाउ भएका छन् । राजनीतिक दलहरुको अस्थिर चरित्रका कारण सरकार स्थिर बन्न सकेको छैन । अब राजनीतिक खिचातानी छाडेर दलहरु देश र जनताको समृद्धितर्फ अघि बढ्नुपर्नेछ ।

बागमतीमा प्रदेशसभाको अघिल्लो कार्यकालमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री भए । सातवटा मन्त्रालय विस्तार गरेर १४ पुर्‍याइयो । १८ जना त मन्त्री नै भए । अहिले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री छन् । उनले पनि तीनपटक त विश्वासको मत लिएका छन् । सत्ता राजनीति अस्थिर बन्दा अहिले बागमतीमा १२ मन्त्रालय र १३ मन्त्री छन् । भागबन्डाकै लागि अस्वाभाविक मन्त्रालय फुटाउने र मन्त्री थप्ने प्रवृत्ति रोकिनुपर्ने मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाईं बताउँछन् ।

लुम्बिनीमा अघिल्लो कार्यकाल एमाले नेता शंकर पोखरेल दुईपटक गरी साढे तीन वर्ष मुख्यमन्त्री बने भने माओवादी केन्द्रका नेता कुलप्रसाद केसी डेढ वर्ष । मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या सातबाट १५ पुर्‍याए भने १७ जनालाई मन्त्री बनाए । दोस्रो कार्यकालमा पनि लुम्बिनीमा तीनजना मुख्यमन्त्री बनिसकेका छन् । एमालेका लीला गिरी एक सय दिनमै मुख्यमन्त्रीबाट बाहिरिए । त्यसपछि मुख्यमन्त्री बनेका कांग्रेसका डिल्लीबहादुर चौधरीलाई हटाएर अहिले माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री छन् ।

यता कर्णालीमा अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही साढे तीन वर्ष र नेपाली कांग्रेसबाट जीवनबहादुर शाहीले डेढ वर्ष सरकारको नेतृत्व गरे । दोस्रो कार्यकालको करिब १५ महिना माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री भए । अहिले एमालेका यामलाल कँडेल छन् । यसरी पटकपटक मुख्यमन्त्री परिवर्तन गरिरहने प्रवृत्ति नयाँ वर्षमा दोहोर्‍याउन नहुने उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष दुर्गा सापकोटाको सुझाव छ ।

गण्डकी प्रदेश पनि राजनीतिक अस्थिरताबाट टाढा छैन । यहाँ अघिल्लो कार्यकाल एमालेका पृथ्बी सुब्बा गुरुङ दुईपटक र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली एकपटक मुख्यमन्त्री बने । भागबन्डा मिलाउन मन्त्रालयको संख्या सातबाट १२ पुर्‍याइयो । यो प्रदेशमा नेकपा एमालेका खगराज अधिकारी दुईपटक र कांग्रेसका सुरेन्द्रराज पाण्डे एकपटक मुख्यमन्त्री बने । प्रदेशमा किचलो कायमै छ । प्रदेशहरुमा देखिँदै आएको राजनीतिक अस्थिरता हटाएर अब प्रदेशहरुलाई समृद्धितर्फ अघि बढाउने जिम्मेवारी दलहरुकै काँधमा छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।