मन्त्रीपरिषद् बैठकको निर्णय : तथ्यांक नियमावली, २०८० स्वीकृत, तोकियो चैते धानको समर्थन मूल्य

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
मन्त्रीपरिषद् बैठकको निर्णय : तथ्यांक नियमावली, २०८० स्वीकृत, तोकियो चैते धानको समर्थन मूल्य

काठमाडौं । सरकारले तथ्यांक नियमावली २०८० लाई स्वीकृत गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको हो । बैठकका निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको पनि जनाइन् ।

उनकाअनुसार सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ । त्यस्तै नेपाल स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह, उपसमूहका ११ अधिकृतलाई सम्बन्धित समूह, उपसमूहका ११औं तहमा बढुवा गरेको छ ।

विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृत दिने निर्णय पनि सरकारले गरेको छ । प्रवक्ता शर्माका अनुसार सरकारले नेपालको संविधानको धारा ५३ एवं सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले आर्थिक वर्ष ०८१/८२ लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा र हिस्साबमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रुपैयाँ, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले चालु आव ०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय पनि गरेको छ । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय सरकारले गरेको पनि प्रवक्ता शर्माले जनाइन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement