बागमती प्रदेश सरकार विस्तार, पर्यटनमन्त्रीमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान नियुक्त

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेश सरकार विस्तार, पर्यटनमन्त्रीमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान नियुक्त

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई बिहीबार संस्कृति पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकार विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराए । २०७९ पुस २५ गतेदेखि निरन्तर सरकारलाई समर्थन दिएको हाम्रो नेपाली पार्टीले वर्तमान गठबन्धनअनुसार सरकार टिकाउन आफू निर्णायक भएपछि मुख्यमन्त्री नै दाबी गरेको थियो ।

हाम्रो नेपाली पार्टीले गत चैत १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको सातादिन नबित्दै हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएको छ । हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएपछि मुख्यमन्त्री जम्कट्टेललाई वर्तमान गठबन्धनअनुसार सरकार टिकाउन आवश्यक ५६ सिट पुग्ने भएको छ ।

गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री जम्कट्टेलले चैत २२ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement