राष्ट्रिय समझदारीअनुसार शान्तिप्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय समझदारीअनुसार शान्तिप्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारी बनाएर शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील रहेको दाबी गरेका छन् ।

द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग बुधबार सिंहदरबारमा भेट गर्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

‘सरकारले चाहँदाचाहँदै पनि संक्रमणकालीन न्याय टुंग्याउन सकिएको छैन,’ उनले भने, ‘शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।’ उनले शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउन त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए ।

द्वन्द्वपीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्तिप्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement