इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

एकीकृत समाजवादीले पनि टुंग्यायो उम्मेदवार
कांग्रेस र रास्वपाको उम्मेदवारी घोषणा हुन बाँकी
चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले इलाम २ र बझाङ १ (क) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (बुधबार) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । माओवादी केन्द्रले उम्मेदवारको नाम भने टुंगो लगाएको छैन ।

माओवादी केन्द्रको कोशी प्रदेश समितिले इलाम २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि धीरेन्द्र शर्मा तिमिल्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । बझाङको उम्मेदवार चयन गर्न भने सुदूरपश्चिम प्रदेश कमिटीको बैठक यही चैत १६ र १७ गतेका लागि बोलाइएको छ ।

सत्ता साझेदार एमाले र एकीकृत समाजवादीले मात्र उम्मेदवारी टुंगो लगाएका छन् । एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

एकीकृत समाजवादीले इलाम २ मा जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय आज गरेको हो । यस्तै, बझाङ १ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने शनिबार नाम टुंगो लगाउने जनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रदेश समितिले इलाम २ को उम्मेदवारका लागि सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement