नेपालमा दलहरुबीच नयाँ समीकरण निर्माण भयो र सत्ता गठबन्धनमा उलटफेर भयो । यसको कारण के हो ? जस वा अपजस नेपालका आन्तरिक शक्तिलाई दिने वा कुनै विदेशी शक्तिलाई ? उत्तर, दक्षिण वा अरु कोही ?
आज राजनीतिक बहसको केन्द्रमा यी प्रश्न सतहमा छन् । सत्ता गठबन्धन किन फेरियो, कसको चासोमा फेरियो, कसको स्वार्थमा फेरियो ? त्यसमा जवाफहरु स्पष्ट वा अस्पष्ट रुपमा नेताहरुले दिइरहकै छन् । तर, सरकारमा हेरफेर हुनेबित्तिकै यसमा बाहिरी चलखेल वा हस्तक्षेपको चर्चा किन हुन्छ ? त्यसैका आधारमा सरकारको आयु तोक्ने चियागफ किन सुरु हुन्छ ?
नेपाली राजनीतिमा जबसम्म हामी आन्तरिक शक्तिलाई विश्वास गर्दैनौं तबसम्म हामी हाम्रो उपलब्धिलाई जोगाउन र लोकतन्त्रलाई अगाडि बढाउन सक्दैनौं र अन्य शक्तिले पनि खेलिरहन्छन् । अनि हाम्रो समृद्धि र विकास ओझलमा परिरहन्छ ।
आफूले गरेको परिवर्तन र चालेका कदममा जबसम्म नेतृत्वलाई नै विश्वास हुँदैन तबसम्म कसैले पनि उनीहरुलाई विश्वास गर्दैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रोपटक विश्वासको मत लिन प्रस्ताव पेस गरेको प्रतिनिधिसभाको फागुन ३० गतेको बैठकमा गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने- यो गठबन्धन बनेकोमा कहाँ अर्कालाई जस दिएको ? उनले थपे- ‘यो गरेको प्रचण्डले हो, साथ दिएको मैले हो । हामीलाई जस दिए पनि हुन्छ नि ।’
नेपाली राजनीतिमा सरकार फेरबदल हुनेबित्तिकै दलहरुले नै विदेशी हस्तक्षेपको राग अलाप्ने र विश्लेषक विचारकहरुले पनि उत्तर र दक्षिणसँग जोडेर व्याख्या गर्ने मानसिकता छ । यसको अर्थ नेपालको सत्तामा विदेशीको चासो नै छैन भन्ने होइन । नयाँ गठबन्धन बनेपछि बसेको एमालेको पदाधिकारी बैठकमा उनै ओलीले भनेका थिए, ‘यो गठबन्धनविरुद्ध भारत लागेको छ ।’
संसद्मा ‘हामीलाई जस दिए हुन्छ नि’ भन्ने अभिव्यक्ति र पदाधिकारी बैठकमा ‘गठबन्धनविरुद्ध भारत छ’ भन्ने भनाइलाई तपाईं कसरी बुझ्नुहुन्छ ?
तर, उनका यी दुवै भनाइले नेपालमा सरकार बन्नेबित्तिकै विदेशी चासो कस्तो हुन्छ भन्ने पुष्टि गरेको छ भने, हाम्रा आन्तरिक शक्ति कसरी आफूलाई विश्वास नगरेर जस-अपजसका लागि विदेशतर्फ देखाउन थाल्छन् भन्ने तथ्य पनि स्थापित हुन्छ ।
आन्तरिक शक्तिमा गठबन्धन बनेको भनेर दाबी प्रस्तुत गरिरहेका एमाले अध्यक्ष ओलीलाई तपाईं विश्वास गर्नुहुन्छ वा अविश्वास, यो तपाईंको जिम्मा ।
तर, यही दाबीका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत दल किन बोल्न सकेनन् ? यो भने उदेकलाग्दो छ । विश्वास हुनेहरु बोल्न हिच्किचाउनु नपर्ने हो ।
नेपालका ठूला-ठूला राजनीतिक परिवर्तनमा दक्षिणको प्रत्यक्ष प्रभाव छ भने उत्तरले सदैव संस्थापनलाई मान्यता दिने नीति अपनाउँदै आएको छ । घटनाक्रमले त्यही देखाएका छन् ।
नेकपा फुटपछि दक्षिणले चैनको सास फेरेको थियो भने उत्तरको बेचैनी बढेको थियो ।
तर, केही समययता उत्तर पनि नेपालमा सत्ता निर्माण र विघटनमा प्रत्यक्ष संलग्न हुने गरेका उदाहरणहरु छन् । यसकारण अहिले नेपालको सत्ता निर्माणमा उत्तर र दक्षिणको प्रतिस्पर्धा छ भने पश्चिमको च्याँखे दाउ रहने गरेको छ भन्न सकिन्छ ।
स्थापित अर्को एउटा तथ्य के पनि हो भने वामपन्थी विचारधाराको वर्चश्व रहेको उत्तर नेपालमा वामपन्थीहरुकै सत्ता कायम रहोस् भन्ने चाहन्छ । धार्मिक शासनलाई बढावा दिइरहेको दक्षिण भने नेपालमा वामपन्थीहरु नमिलुन् फुटेर, छरिएरै रहून् र वामपन्थी सत्ता नबनोस् भन्ने नै चाहन्छ । यी दुवै कुरा कहिलेकाहीँ तिनका प्रतिनिधिबाट मुखर रुपमै सार्वजनिक हुन्छन् त कहिले तिनका अस्वाभाविक गतिविधिबाट ।
यो तानातानमा नेपाली नेतृत्व वैचारिकभन्दा सत्ता, शक्ति र पदको स्वार्थमा प्रयोग हुने गरेका छन् । अहिले त यस्तोसम्म अवस्था आइसकेको छ कि सत्ताको नेतृत्व मात्र होइन निजामती पद वा साना-ठूला विकास परियोजनामा समेत उत्तर र दक्षिण आफूले चाहेका वा आफूलाई सहज हुने व्यक्ति नियुक्त गर्न दबाब दिन्छन् । नेपालमा लगानीको प्रचुर सम्भावना छ र दुवै चाहन्छन् यसमा आफ्नो वर्चस्व होस् ।
२०७४ सालको निर्वाचनमा कांग्रेस र माओवादीलाई एकै ठाउँमा रहन दक्षिणले गरेको जोडबल, एमाले र माओवादी मिलाउन उत्तर सफल भएपछि व्यर्थ भयो । त्यसकारण निर्वाचनपछि बनेको सरकार र नेकपाप्रति उसले बक्रदृष्टि राख्दै आयो । यही कारण नेकपा फुटपछि दक्षिणले चैनको सास फेरेको थियो भने उत्तरको बेचैनी बढेको थियो ।
२०७९ को निर्वाचनमा कांग्रेस र माओवादी एकै ठाउँमा रहेको र ओलीलाई धोका दिएर दाहालले कांग्रेससँग गठबन्धन गरेपछि अघिल्लो सरकारप्रति दक्षिणको सहयोगी रुप नै देखिएको थियो । उत्तर भने योभन्दा वामपन्थीहरु एकै ठाउँमा आए हुन्थ्यो भन्ने सदाबहार चाहनामा थियो ।
अहिले फेरि एमाले र माओवादी मिल्दा उत्तरको चाहना पूरा भएको जस्तो देखिन्छ । तर दक्षिणको बक्रदृष्टि देखिन थालिसकेको छ । यसकारण यो सरकारप्रति उसको रवैया कस्तो हुनेछ त्यो हेर्न बाँकी नै छ ।
तर, यो सबै हुनुको जड दक्षिणले नेपालका परिवर्तनमा खेलेको भूमिकामा ब्याज खोज्ने प्रवृत्ति र उत्तरले नेपालको सत्ता नियन्त्रणमा राख्न देखाएको राजनीतिक सक्रियता जति जिम्मेवार छ, त्योभन्दा बढी आफ्नो स्वार्थका लागि हाम्रा नेताहरुले नै उनीहरुलाई दिने निमन्त्रणा र आन्तरिक मामिलाका विषयमा गरिने परामर्श छ ।
यी दुवैजस्तै महत्त्वपूर्ण अर्को कुरा, उत्तर दक्षिणको कुनै भूमिका नभए पनि ‘जसरी पनि भूमिका छ’ भन्ने स्थापित गर्न लागिपर्ने विश्लेषक र विचारकको छ । जसले आन्तरिक शक्तिलाई विश्वास नै गर्दैनन् । हस्तक्षेप भए पनि नभए पनि उत्तर-दक्षिण प्रभावको भाष्य बनाउँछन् र यदि प्रभाव रहेछ भने पनि र रहेनछ भने पनि उत्तर-दक्षिणलाई नेपालको सरकार हामीले बनाएको वा भत्काएको भन्ने जस लिने वातावरण तयार गरिदिन्छन् ।
दलका नेतृत्व तथा विचारकको यो भाष्यले नेपाली जनतालाई भने गुमराहमा राख्ने र विभाजित बनाउने काम मात्र गरेको छ । जसलाई चिर्न हाम्रा राजनीतिक दल र तिनका नेताहरु असफल छन् ।