गठबन्धनमा माधव नेपाल : सँधै उधारोमा सहमति

फाल्गुन ३०, २०८० |सुबिन्द्र श्रेष्ठ
गठबन्धनमा माधव नेपाल : सँधै उधारोमा सहमति

काठमाडौं । अघिल्लो गठबन्धनमा आलोपालो प्रधानमन्त्रीमा सहमति गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेसँगै हिस्स परेका छन् । दलहरुबीच कुन बेला गठबन्धन बन्छ र कुन बेला भत्कन्छ भन्ने टुंगो नहुने यो समयमा प्रधानमन्त्रीको उधारो सहमतिको कुनै तुक छैन । तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यस्तै उधारो सहमतिमा मख्ख पर्ने गरेका छन् ।

प्रधानमन्त्री बन्ने उधारो सहमति कार्यान्वयन हुन निकै ठुलो निष्ठा र नैतिकता चाहिन्छ । तर नेपाली राजनीतिमा यो कति छ तपाईं हामी सजिलै अुनमान लगाउन सक्छौं ।

एमाले-माओवादी गठबन्धन भत्काएर गत वर्ष पुसमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धन बन्यो । त्यतिबेला पहिलो डेढ वर्ष पुष्पकमल दाहाल, एक वर्ष माधवकुमार नेपाल र बाँकी डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने आन्तरिक सहमति भएको चर्चा चल्यो । यसको लिखित कहाँ थियो, कहिल्यै बाहिर नआए पनि यो उधारो सहमतिमा सबै ढुक्क थिए ।

तर निर्माण भएको एकवर्षमै गठबन्धन छिन्न भिन्न भयो र सहमति पनि त्यसैगरी हरायो । न भने बमोजिम कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुन पाए न एकीकृत समाजवादी अध्यक्ष नेपाल नै प्रधानमन्त्री हुन पाए । पुरानो गठबन्धन भत्किएर नयाँ बन्दा कांग्रेस सभापति देउवा अर्को कित्तामा परेकाले उनले प्रधानमन्त्री बन्न नपाएकोमा दाहाललाई धोखेबाज भनेर चित्त बुझाउलान् । तर माधवकुमार नेपालले फेरि पनि उधारोमै चित्त बुझाएका छन् ।

नयाँ गठबन्धन बमोजिम बनेको सरकारको नेतृत्वमा दाहाल नै आएका छन् । उनी कांग्रेस सभापतिको साथ खोज्न गएका पनि छैनन् । तर माधवकुमार नेपाललाई उधारो सहमतिमा धोखा दिए पनि फेरि दाहाल नेपालको साथ खोज्न पुगेका छन् । उतिबेला दोस्रो पालोमा रहेका भनिएका नेता नेपालले नयाँ गठबन्धन दलका नेताहरु उनलाई फकाउन आउँदा उनले पूर्वउधारो सहमति पूरा नभएकोमा असन्तुष्टि पनि जनाएका थिए । तर अहिले फेरि भागवण्डाको प्रधानमन्त्रीमा उनले उधारो सहमति गरेको समाचार बाहिर आइरहेको छ । जबकि यो गठबन्धन कति टिक्छ भन्ने प्रश्न अहिले जनजनमा छ । यदि यो गठबन्धन पनि टिकेन भने अहिलेको उधारो सहमति पनि खेर जानेछ ।

अहिलेको उधारो सहमति कार्यान्वयनमा उनले यस्ता नेतालाई विश्वास गरेका छन् जसले उनलाई पटकपटक उनको प्रधानमन्त्री बन्ने हैसियतमा खिसी उडाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १६ गते सुनसरीमा आयोजित पार्टी कार्यकर्ता भेलामा संसद्मा राष्ट्रिय मान्यता नपाएको दलका व्यक्ति प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने गरेको भनेर नेता नेपालप्रति व्यंग गरेका थिए । यतिमात्र नभई पार्टी विभाजनदेखि नै पानी बाराबारको स्थितिमा रहेका ओलीले '१० सिटेलाई प्रधानमन्त्री ?' भन्दै कहिले नाम लिएर, त कहिले नाम नलिई नेपालविरुद्ध धावा बोलिरहे ।

तर, उनै ओलीले अहिले नेपालको घरै पुगेर त्यही १० सिटे एकीकृत समाजवादीलाई सरकारमा भित्र्याएका छन् र नेपाललाई आलोपालो प्रधानमन्त्री बन्ने उधारो सहमतिमा मनाएका छन् । यसको खुलासा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले नै गरिसकेका छन् । उनका अनुसार दाहाल ओली र नेपालबीच १५-१५ महिना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

गठबन्धनकै भर नभएको अवस्थामा त्यसको जगमा गरिएको उधारो सहमतिको अवस्था के होला भन्न सकिने स्थिति छैन । किनकि दाहाललाई विश्वासको मत चाहिएको थियो र त्यसका लागि उनि जुनसुकै सहमति गर्न तयार थिए ।

नेपाली राजनीतिमा ओली र दाहाललाई एकदमै नजिकबाट चिन्ने नेता कोही छ भने ती माधवकुमार नेपाल हुन् । तर उनी नै यी दुई नेताले गराएको उधारो सहमतिमा अल्झिरहेका छन् र एकपटक त धोखा पनि खाइसके । अहिले नै पनि नेपालको दलको संसदीय हैसियत हेर्ने हो भने उनी प्रधानमन्त्री बन्न निकै गाह्रो छ । प्रतिनिधिसभामा १० सिट भएको एकीकृत समाजवादी राष्ट्रिय मान्यता प्राप्त दल होइन ।

मानौं, गठबन्धनले सहमति पालना गर्यो र माधवकुमार नेपाल प्रधानमन्त्री हुने स्थिति आयो भने संविधानको कुन धाराअनुसार होलान् भन्ने जवाफ शीर्ष नेताहरुसँग नै छैन । किनकि, अहिले दाहाल संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन् भने उनले राजीनामा दिएपछि धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता प्रधानमन्त्री बन्ने प्रावधान छ । तर, ती दुवै हैसियत नेपालको छैन । यो हैसियत ठीक नगरि कसरी उनी प्रधानमन्त्रीको उधारो सहमतिमा मख्ख परिरहेका छन् त्यो समयले नै बताउला ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।