प्रेम सुवालले भने, 'मन्त्रीहरू नै मल किनेर कमिसन खान्छन्'

मंसिर १०, २०७९
प्रेम सुवालले भने, 'मन्त्रीहरू नै मल किनेर कमिसन खान्छन्'

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले देशमै मल कारखाना खोल्नुको सट्टा सरकारका मन्त्रीहरूले नै भारतसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाएका छन् । भक्तपुरको उनी निर्वाचित क्षेत्रका मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सुवालले त्यसो भनेका हुन् ।

शनिवार सुवालले उक्त जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, 'हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरूको काम नै त्यही हो ।' यसका अलावा उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।

राम्रो कानुन बनाउन सके मात्र देशभरका मजदुर, किसान र काम गरी खाने जनतालाई फाइदा हुने तर्क गर्दै उनले निःशुल्क स्वास्थ्य उपचार र स्वदेशमै रोजगारी दिन सक्ने कानुन निर्माणका लागि संसद्मा आवाज उठाउने बताए ।

नेता सुवाल भक्तपुर १ बाट नेकपा एमालेका नवराज गेंलाललाई ३० हजार ७९३ मतले पछि पार्दै विजयी थिए । उनले ४२ हजार ७१६ मत पाएका थिए भने पराजित गेंलालले ११ हजार ९६८ मत ल्याए ।