काठमाडौं । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ ।
गर्मीबढेसँगै तातो हावा चल्न थालेको छ । तराईका जिल्लामा भोलि शुक्रबारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहन सुझाव दिएको छ ।
तीन दिन यता बढेको उखरमाउलो गर्मी र तातो लहरका कारण धनगढीसहित सुदूरपश्चिमका अधिकांश क्षेत्रको त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । चर्को गर्मीसंगै चल्ने तातो हावाका कारण दैनिक काम गर्न र हिँडडुल गर्न समेत मानिसहरुलाई सकस भएको छ ।
गर्मी बढ्दै जाँदा कैलालीको तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरिएको छ । गर्मीले मजदुरी गरेर जीविका चलाउने वर्ग, बृद्धबृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित भएका छन् । गर्मी बढेसँगै दिउँसोपख बजारमा मानिसहरूको चलहपहल घटेको छ ।
बढ्दै गएको गर्मीबाट जोगाउन झोलिलो खानेकुरा खुवाएर शरिरमा पानीको मात्रा बढाउनु पर्ने र सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखान चिकित्सकले सुझाएका छन् ।
गर्मी अझै बढ्दो क्रममा रहेकाले सकेसम्म दिउँसोपख घर बाहिर ननिक्लन प्रशासनले आग्रह गरेको छ । अघिल्लो वर्ष धनगढीको तापक्रम ४४ डिग्री सम्म मापन गरीएको थियो ।