
गाेरखा । मनकामना दर्शन गरेर फर्कने क्रममा गोरखाको कान्टारमा शनिबार राति भारतीय पर्यटक बोकेको इभी माइक्रो दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुने सबै भारत तमिलनाडु शिवगंगाका रहेका छन् । तीर्थयात्राका लागि भारतबाट नेपाल आएकामध्ये दुई पुरूष र पाँच महिलाको मृत्यु भएको हो । मृतक भारतीय नागरिकको शव पोष्ट मार्टमका लागि गोरखा अस्पताल राखिएको छ । दुर्घटनामा परी चालक, सहचालकसहित आठ जना घाइते भएका छन् ।
चालक र सहचालक सहित १६ सवार उक्त इभी माइक्रोमा १४ जना भारतीय पर्यटक थिए । घाइतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जनाको न्युरो आईसीयुमा, दुई जनाको सर्जरी आईसीयुमा, दुई जनाको अर्थो वार्ड र दुई जनाको न्युरो वार्डमा उपचार भइरहेको मेडिकल कलेजका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. सुदिप केसीले जानकारी दिनुभयो ।
अस्पतालमा माइक्रोका चालक र सह-चालकको पनि उपचार भइरहेको छ । आईसीयुमा उपचाररत घाइतेहरूको अवस्था स्थिर रहेको र शल्यक्रिया गर्न पर्ने अवस्था नरहेको न्युरो सर्जन डा.सरोज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार ती घाइतेहरूको टाउको र मेरूदण्डमा चोट लागेको छ।
मनकामनाबाट मझुवा आउने क्रममा शनिबार राति साढे सात बजेको समयमा बागमती प्रदेश ०१–००६ख ८४३० नम्वरको इभी माइक्रो सहिद-लखन गाउँपालिका –३ कान्टारमा कच्ची सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।