
काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै निरन्तर काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ ।
नेपाल दलित मुक्ति मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विकको सामूहिक बलात्कारपछि हत्यामा संलग्नमाथि निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही माग राखि शुक्रबारदेखि माइतीघरमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।
आइतबार तेस्रो दिन पनि सरकारलाई दबाब दिँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरूले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, छुवाछुत विभेदको पूर्ण अन्त्य गर, महिला र बालवालिकामाथि हुने सबै उत्पिडन र हिंसा बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए ।