रास्वपा सचिवालय बैठकले तय गर्यो सांसदहरूको सूची, कांग्रेस र राप्रपाको बैठक जारी

चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सचिवालय बैठकले तय गर्यो सांसदहरूको सूची, कांग्रेस र राप्रपाको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आफूले पाएका ५७ सांसदहरूको सूचीलाई अन्तिम रूप दिएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले ५७ सांसदहरूको नाम तय गर्दै निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो । रास्वपाले खस आर्यतर्फ १७, आदिवासी जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारू ४ जनाको नाम तय गरेको छ । यसैगरी, ४८ जना महिला र ९ पुरूषको सूचीलाई अन्तिम रूप दिइएको छ । तर, नाम भने सार्वजनिक गरिएको छैन ।

निर्वाचनबाट झन्डै २ तिहाइ मत पाएको रास्वपाले सरकार गठनको गृहकार्य पनि तीव्र बनाएको छ । रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्तिको बाटो खोल्ने प्रक्रिया अघि बढाउँदैछ । पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्था रास्वपा सचिवालयले संशोधन गर्नेछ ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय ८२ सिट जितेको रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ । यता समानुपातिकतर्फको नाम टुङगो लगाउन नेपाली कांग्रेसको पनि बैठक बसिरहेको छ । 

बैठकले समानुपातिकतर्फ पार्टीले पाएको २० जनाको नाम टुङगो लगाउने छ भने निर्वाचनमा पार्टीले भोगेको पराजयको पनि समीक्षा गर्ने कांग्रेसले जनाएको छ । यस्तै समानुपातिकतर्फ ४ सिट पाएको राप्रपाको पनि बैठक बसिरहेको छ । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका ६ दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई दिएको समय आइथबार साँझ सकिँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.