
कञ्चनपुर । पश्चिम तराईका आदिवासी रानाथारू समुदायले मंगलबार खख्डेहरा पर्व मनाएका छन् ।
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको समापनका रूपमा खख्डेहरा मनाइन्छ । यस पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व हो, होरी ।
यो समुदायले माघ शुक्ल पूणिर्माको दिनमा होरी राखी फागुण पूणिर्मामा जलाउँछन् । त्यसपछिको आठौं दिन अर्थात् होरीको अन्तिम दिनका रूपमा खख्डेहरा मनाउने गर्दछन् । सामाजिक मान्यता अनुसार खख्डेहराको मूल मर्म नै होरीको औपचारिक बिदाइसागै रोगव्याधि, महामारीको प्रतीक खख्डेहरालाई गाउँबासी जम्मा भएर कुट्ने चलन छ ।
गलत तत्त्वको विनाश भएको मान्यता अनुरूप खुसीयाली मनाउने पर्वको रूपमा खख्डेहरा रहेको छ । नेपालको कञ्चनपुर र कैलाली तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बसोबास गर्ने रानाथारू समुदायले यो पर्व मनाउँछन् । एकाबिहानै गाउँको दक्षिण तिरको बाटोमा जम्मा भई घैँटो वा टायलमा सात-सातवटा मट्याङ्ग्रामा झाडुको सिन्का हालेर राख्ने र त्यहीँनिर विभिन्न नयाँ अन्न तथा दालसमेत राख्ने गरिन्छ ।
सबै घरबाट जम्मा गरिएका ती सामग्रीलाई गाउँका भलमन्सा वा पधनाले फुटाउने चलन छ । त्यसपछि सबै घरमा गई भेटी स्वरूप दक्षिणा लिने गरिन्छ । यसका साथै विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम गरी होरी समापन हुन्छ । होरी रङ्गको पर्व मात्र नभएर रानाथारू समुदायको पहिचान र इतिहास बोकेको पर्व समेत हो ।
होरी पर्व एकापसमा अपनत्व, मिलनसारिता र सुमधुरता ल्याउने पर्व भएकोले विभेदरहित समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।