रूपन्देहीमा १२ उमेदवारको जोगियो जमानत, १४३ ले गुमाए

फाल्गुन २६, २०८२ |अमृता अनमोल
रूपन्देहीमा १२ उमेदवारको जोगियो जमानत, १४३ ले गुमाए

बुटवल । रूपन्देहीमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार १ सय ५५ जनामध्ये १२ जनाको मात्रै जमानत जोगिएको छ ।

बाँकी १ सय ४३ जना उम्मेदवारको जमानत जफत भएको छ । रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये विजयी पाँचसहित अन्य सात जनाले मात्रै जमानत जोगाएका हुन् । जिल्लामा राजनीतिक दलबाट ९२ जना र स्वतन्त्र ६३ जना उमेदवार थिए । रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जितेको छ ।

३१ जना उम्मेदवार रहेको रूपन्देही-१ मा विजयी सुनिल लम्साल र कांग्रेसका हिराबहादुर खत्रीले मात्रै जमानत जोगाए । अन्य २९ जनाको जमानत जफत भएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित सुलभ खरेल, एमालेका विष्णुप्रसाद पौडेल र कांग्रेसका चुन्न प्रसाद शर्मा गरी तीन जनाले मात्रै जमानत जोगाए । 

३६ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर-३ मा डा. लेखजंग थापाबाहेक ३५ जना सबैको जमानत जफत भएको छ । क्षेत्र नम्बर-४ मा २२ जना उम्मेदवार रहेकोमा निर्वाचित कन्हैया बनिया, एमालेका प्रमोदकुमार यादव र कांग्रेसका आशुतोष मिश्रले जमानत जोगाए । 

बाँकी १९ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर-५ मा निर्वाचित तौफिक अहमद खान, एमालेका खिमलाल भट्टराई र कांग्रेसका भरतकुमार शाहले जमानत जोगाए । २४ जनाको जमानत जफत भएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।