
दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दाङका ३ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ५२ जनाको जमानत जफत भएको छ ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार दाङका ३ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका मध्ये क्षेत्र नम्बर १ मा दुई जना, क्षेत्र नम्बर दुईमा ३ जना र क्षेत्र नम्बर ३ मा ३ जना गरी जम्मा ८ जनाले मात्रै खसेको कुल सदर मतको १० प्रतिशत मत कटाएको कार्यालय प्रमुख लालसिङ खड्काले बताउनु भएको छ ।
दाङका क्षेत्र नम्बर १ मा १४ जना उम्मेदवार रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ भने नेपाली कांग्रेसले मात्रै १० प्रतिशत मत कटाएको छ भने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र क्षेत्र नम्बर १ बाट दुई पटक निर्वाचन जितेका पुर्व संघीय मन्त्री मेटमणी चौधरीसहित १२ जनको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर दुईमा २३ जना उम्मेदवार रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ भने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले मात्रै कुल सदर मतको १० प्रतिशत मत कटाएका छन् भने नेकपाका उम्मेदवार निर्मल आचार्य सहित २० जनाको जमानत जफत भएको छ ।
त्यसैगरी दाङको क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका २३ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ भने नेपाली काङ्ग्रेस र नेकपा एमालेका उम्मेदवारले मात्रै १० प्रतिशत मत कटाएका छन् भने नेकपाका उम्मेदवार लुम्बिनी प्रदेशका पुर्व अर्थमन्त्री धनबहादुर मास्की सहित २० जनाको जमानत जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिङ खड्काले बताउनु भएको छ ।