
बारा । प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फकाे निर्वाचनमा बारामा प्रतिस्पर्धामा रहेका १ सय १० उम्मेदवारमध्ये ९९ जनाकाे जमानत जफत भएकाे छ ।
कुल सदर मतमध्ये प्राप्त गरेकाे १० प्रतिशत मत पनि ल्याउन नसकेका उम्मेदवारकाे जमानत जफत भएकाे हाे । यसमा तत्कालीन ठूला र मधेशी दललगायत अन्य साना दलकाेसमेत उम्मेदवारले जमानत प्राप्त गर्न सकेनन् । एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी , प्रगतिशील लाेकतान्त्रिक, श्रम संस्कृति, उज्यालाे नेपाल पार्टी, परिवर्तन नेपाललगायतका पार्टीका उम्मेदवार पनि छन् ।
अधिकांस मत रास्वपाका उम्मेदवारले हात पार्न सफल भएकाेले तिनीहरूकाे १० प्रतिशत कटाउन नसकेर जमानत जफतकाे सूचीमा परेका हुन् । जमानत जफतसँगै उनीहरूकाे उम्मेदवारी धराैटीसमेत जफत भएकाे हाे । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार क्षेत्र नम्बर १ मा २० प्रतिस्पर्धी उम्मेदवारमा १७ जनाकाे जमानत कट्न नसकेकाे हाे ।
याे क्षेत्रमा ७५ हजार २ सय ८५ मत सदर रहेकाे थियाे । यसमा जसपाका रामबाबुप्रसाद यादव, जनमतका कमरूल्लाह अंसारी, नेकपाका सन्ताेष दंगालकाे जमानत जफत भएकाे हाे । २०७९ काे चुनावमा यी दलमध्ये एमाले, कांग्रेस, जसपा, जनमत, तत्कालीन नेकपा माओवादी सम्मानजनक मत प्राप्त गरी प्रतिस्पर्धामा थिए ।
यसैगरी क्षेत्र नम्बर २ मा कुल सदर मत ७२ हजार ७ सय ६१ मत सदर भएकाे थियाे । जसमा प्रतिस्पर्धी २९ उम्मेदवारमध्ये २६ जना उम्मेदवारकाे जमानत निस्कन नसकेकाे हाे । याे क्षेत्रमा नेकपा एमालेका बलबीर चाैधरी, नेकपाका रमेशप्रसाद यादव, जनमतका रमेशप्रसाद यादव, प्रगतिशील लाेकतान्त्रिक पार्टीका शिवचन्द्र कुसवाहासमेतकाे जमानत जफत भएकाे हाे ।
क्षेत्र नम्बर ३ मा २४ उम्मेदवार प्रतिस्पर्धी थिए । यसमा २२ जनाकाे जमानत जफत भएकाे हाे । याे क्षेत्रमा कुल सदर मत ७१ हजार २ सय ५ खसेकाे थियाे । यी क्षेत्रमा नेकपा एमालेका ज्वालाकुमारी साह, जनमतका प्रमाेद गुप्ता, नेकपाका भरतप्रसाद साह, जसपाका रामबाबुकुमार यादवसहित २२ जनाकाे जमानत जफत भएकाे छ ।
क्षेत्र नम्बर ४ मा कुल सदर मत ७४ हजार ६ सय ३७ मत खसेकाे थियाे, जसमा ३७ जना उम्मेदवार प्रतिस्पर्धी थिए । यस क्षेत्रमा ३४ जना उम्मेदवारकाे जमानत कट्न नसकेकाे हाे । कांग्रेसका श्यामबाबु गुप्ता, जनमतका हसनजान अंसारी, नेकपाका अजय कुसवाहा, परिवर्तन नेपालका सर्वेन्द्र खनालसमेतले जमानत जाेगाउन नसकेका हुन् ।