ओली र काठमाडौंका तत्कालीन प्रजिअलाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस

तत्कालीन गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत कारबाहीको सुझाव
फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र काठमाडौंका तत्कालीन प्रजिअलाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस

काठमाडौं । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ ।

आयोग उच्चस्रोतकाअनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र महानगरीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखलाई कारबाही गर्न पनि आयोगले सिफारिस गरेको छ। यसैगरी, आन्दोलनमा कसले र कति गोली चल्यो भनेर छानबिन गर्न र संलग्न व्यक्तिलाई कारबाही गर्न प्रहरीमा उच्चस्तरीय समिति बनाउनसमेत आयोगले सिफारिस गरेको छ ।

आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले १ सय ६५ दिन लगाएर अनुसन्धान गरेपछि आइतबार प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताउनुभयो । प्रतिवेदनको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने उहाँले बताउनुभयो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। 

भविष्यमा यस्ता घटना नहुन् भनेर सुझाव पनि दिएको उहाँले बताउनुभयो। आयोगका सदस्य विज्ञानराज शर्माले प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताउनुभयो। 

अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताउनुभयो। आयोगले १ सय ६५ दिन लगाएर अनुसन्धान गरेपछि आज प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अब मन्त्रिपरिषद्‍मा पेस गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.