
राजविराज । सप्तरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ ।
रामजीले २८ हजार ४ सय ४ मत ल्याउँदा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ९ हजार ८ सय ८० मत ल्याएर तेस्रो स्थानमा सीमित हुनुभयाे । रामजीका निकटतम प्रतिस्पर्धी भने जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले १४ हजार २ सय ६३ मत पाउनुभयाे ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सतिशकुमार सिंहले ३ हजार ५ सय ५७ मत मात्र ल्याउनु भयाे । उहाँ स्वाभिमान पार्टीबाट उम्मेदवार हुनुहुन्थ्याे । नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४ सय ९८, राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले १ हजार १ सय २०, नेकपा एमालेका मो. जियाउल रहमानले ८ सय ८३, नेपाली कम्युनिष्ट पार्टीका सुर्यनाथप्रसाद यादवले ४ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार दासले ३ सय ७४ मत ल्याउनुभएकाे छ ।
राजविराज नगरपालिका-९ विहारपुरका ३० वर्षका निर्वाचित रामजी २०७३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय हुनुभएकाे थियाे । पेसाले इन्जिनियरसमेत रहनुभएका उहाँ पछिल्लो जेन-जी आन्दोलनपछि रास्वपाबाट उम्मेदवार भएर प्रतिनिधि सभा सदस्यमा लड्नुभयाे ।
कुल १ लाख ५ हजार ९ सय २२ जना मतदाता रहेको यस क्षेत्रमा ३५ हजार ५ सय ४३ महिला र ६८ हजार ५ सय ४० पुरुष गरी ६८ हजार ५ सय ४० जनाले मतदान गरेका थिए । यसअघि सप्तरी-१, ३ र ४ मा पनि रास्वपाकै क्रमशः पुष्पाकुमारी चौधरी, अमरकान्त चौधरी र सिताराम साह निर्वाचित भइसकेका छन् ।