महोत्तरी- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वल कुमार झा विजयी

फाल्गुन २४, २०८२ |विकास आर्या
महोत्तरी- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वल कुमार झा विजयी

महोत्तरी । महोत्तरी- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वल कुमार झा निर्वाचित हुनु भएको छ । 

उहाँ ३२ हजार ४ सय ५१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नेपाल संघीय समाजवदाी पार्टीका उम्मेदवार रिजवान अन्सारीले मात्र ५ हजार ९ सय ६९ मत ल्याउन सक्नु भयो । विजयी उम्मेदवार झा पेसाले इन्जिनियर हुनु हुन्छ । 

पछिल्लो निर्वाचनमा स्वतन्त्र भएर प्रदेश सभा निर्वाचन लड्नु भएका ३३ वर्षीय झा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रनुभएको थियो । महोत्तरीमै जन्मिनु भएका उहाँ एकराडा गाउँपालिकाका स्थायीबासी हुनु हुन्छ । प्राविधिक शिक्षा हासिल गनुभएका झा भीआईटीआई टेलगामबाट आफ्नो अध्ययन पूरा गर्नु भएको छ । 

इन्जिनियरिङ पृष्ठभूमिका कारण उहाँ विकास, पूर्वाधार र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै मतदातामाझ पुग्नु भएको थियो । जसको फाइदा उहाँलाई भयो । उहाँ महोत्तरीको एक परिचित राजनीतिक परिवारका सदस्य पनि हुनुहुन्छ । उहाँका हजुरबुबा कुलानन्द झा पञ्चायतकालका चर्चित नेता हुनु हुन्थ्यो । 

उहाँका हजुरबुबालाई स्थानीयले अझै पनि ‘न्यायप्रेमी नेता’का रूपमा सम्झन्छन् । यही पारिवारिक पृष्ठभूमिले उहाँलाई समाजसेवा र सार्वजनिक जीवनप्रति प्रेरित गरेको बताइन्छ । स्थानीयस्तरमा उहाँ एक सामाजिक र सक्रिय युवा अनुहारका रूपमा चिनिनुहुन्छ ।

निर्वाचित भएपछि झाले यहाँका मतदाताले जसरी स्नेह देखाउनु भएको छ त्यो स्नेहको बदलामा कर्म गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०७९ सालको प्रदेश सभा निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उल्लेखनीय मत प्राप्त गर्नुभएको थियो । 

सो निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रानीकुमारी तिवारी ६ हजार ४ सय १४ मतसहित विजयी हुँदा उज्ज्वल झाले ५ हजार ४ सय ८९ मत प्राप्त गरी कडा प्रतिस्पर्धा दिनु भएको थियो । त्यतिबेला प्रमुख दलका उम्मेदवारलाई पछाडि पार्दै उहाँले आफ्नो राजनीतिक सम्भावना देखाउन सफल हुनु भएको थियो ।

स्थानीय मतदातामाझ पढेलेखेको, इमान्दार र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने युवाको छवि बनाउन सफल भएकाले यहाँका मतदाताले उहाँलाई प्रतिनिधि सभामा पुर्याएका हुन् ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।