प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबै नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चस्व

फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
 प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबै नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चस्व

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत हाल देशभरका विभिन्न स्थानबाट मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । 

हालसम्म १ सय ४६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइतर्फ अघि बढेको छ । रास्वपाले अहिलेसम्म १ सय १६ स्थानमा जित हात पारिसकेको छ । यस्तै ९ स्थानमा रास्वपा अगाडि छ । काठमाडौं उपत्यकाका तीन जिल्ला, झापा, बारालगायत धेरै जिल्लामा रास्वपाले क्लिनस्वीप नै गरेको छ ।

यस्तै पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसले १६ स्थानमा जित दर्ता गरेको छ । कांग्रेसले १ स्थानमा अग्रता बनाएको छ । नेकपा एमालेले भने ७ स्थानमा जित हासिल गरेको छ । एमाले ३ स्थानमा अगाडि छ । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी छ । नेकपाले ६ जित हात पार्दा ३ स्थानमा अग्रता बनाएको छ । श्रम संस्कृति पार्टीले २ स्थानमा जित हासिल गरेको छ ।

पछिल्लो परिणामअनुसार श्रम संस्कृति पार्टीका हर्क साम्पाङ सुनसरी १ बाट विजयी हुनुभएको छ । उहाँ ३५ हजार ७ सय ४१ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रास्वपाका गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभयो । यस्तै खोटाङबाट श्रमसंस्कृतिकै आरेन राई १६ हजार ६ सय १२ मतसहित विजयी हुनुभएको छ ।

यसैगरी बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी हुनुभएको छ । रौतहट ३ मा रास्वपाका रविन्द्र पटेल र धनुषा २ मा रास्वपाकै रामविनोद यादव विजयी हुनुभएको छ । यस्तै ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित हुनुभएको छ । त्यहाँ कांग्रेसका कुमार लुईटेल जम्मा ५ मतले पराजित हुनुभएको छ । पोखरेलले १३ हजार ९ सय ५३ मत पाउँदा लुईटेलले १३ हजार ९ सय ४८ मत पाउनु भएको छ । 

यता ललितपुर २ बाट रास्वपाका जगदिश खरेलले जित हासिल गर्नुभएको छ । उहाँ ३९ हजार ४ सय ९१ मत ल्याएर विजयी हुनुभयो । दोस्रो स्थानमा रहेका कांग्रेसका प्रेमकृष्ण महर्जनले  ७ हजार ४ सय ११ मत ल्याउनु भयो ।उता, कपिलवस्तु १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य विजयी हुनुभएको छ । उहाँले ३४ हजार २ सय ८८ मतान्तरले विजयी हुनुभएको हो । आचार्यले ३४ हजार १ सय ४८ मत पाउँदा दोस्रो बनेका स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० प्राप्त गर्नु भएको छ ।

उदयपुर २ मा रास्वपाका सूर्य तामाङ १४ हजार ८ सय २ मतसहित विजयी हुनुभएको छ । दोस्रो बनेका एमालेका अम्बर रायमाझीले ७ हजार ६ सय ४८ मत पाउनु भयो । यसैगरि सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी हुनुभएको छ । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याएर नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गर्नुभएको हो । मोरङ ३ मा पनि रास्वपाकै गणेश कार्की निर्वाचित हुनुभएको छ । उहाँले ३६ हजार ९ सय २४ मत ल्याउनुभएको छ ।

बाराका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। बारा १ मा गणेश धिमाल, बारा २ मा चन्दनकुमार सिंह, बारा ३ मा अरविन्द साह र बारा ४ मा रहवर अंसारी निर्वाचित हुनुभएको छ । देशैभर रास्वपाको लहर आउँदा म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । शिक्षामन्त्रीबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएका महावीर पुनले जित हात पार्नुभएको हो । उहाँ अहिलेसम्म जित्ने एक मात्र गैरदलीय उम्मेदवार हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट हात पारेको छ । राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित हुनुभएको हो । यसैगरि इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । २२ हजार ४२६ मत प्राप्त गर्दै नेम्वाङले कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतान्तरले पराजित गर्नुभयो । यस्तै ताप्लेजुङबाट एमालेकै क्षितिज थेबेले १३ हजार ९ सय ६२ मत ल्याएर निर्वाचित हुनुभएको छ । धनकुटामा पनि एमालेका राजेन्द्रकुमार राई १८ हजार १ सय ३२ मतसहित विजयी हुनुभएको छ ।

यसैगरी रास्वपाकी इन्दिरा राना मगरले झापा २ बाट प्रतिनिधिसभाको बाटो तय गर्नुभयो । उहाँले ६० हजार १ सय १० मत प्राप्त गर्नुभयो । रास्वपाकै आशिका तामाङले धादिङ १ बाट ३९ हजार १ सय २८ मत प्राप्त गरेर संसदीय निर्वाचनमा पहिलो प्रयासमै सफलता हात पार्नुभएको छ । रास्वपाकै नरेन्द्र साह कलवारले ४६ हजार ८ सय ९० मत ल्याएर सर्लाही ३ मा सफलता हात पार्नुभएको छ । उहाँले पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नारायणकाजी श्रेष्ठलाई पराजित गर्नुभएको छ ।

कपिलवस्तु १ मा पनि रास्वपाका मोहनलाल आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार १ सय ४८ मत ल्याएर निर्वाचित हुनुभएको हो । काभ्रे १ र धनुषा ४ मा पनि रास्वपा उम्मेदवारहरू मधुकुमार चौलागाईँ र राजकिशोर महतो निर्वाचित हुनुभएको छ ।

नवलपरासी पश्चिम २ र कैलाली ४ मा पनि रास्वपाकै उम्मेदवारहरू नरेन्द्रकुमार गुप्ता र खेमराज कोइरालाले जित हात पार्नुभएको छ । यसैगरी पाल्पा २, उदयपुर २, बारा २ मा पनि क्रमशः रास्वपाका माधवबहादुर थापा, सूर्यबहादुर तामाङ र चन्दनकुमार सिंह निर्वाचित हुनुभएको छ ।

गएराति रास्वपाले अधिकांश क्षेत्रमा जित हात पार्दा रुकुमपश्चिममा भने नेकपाका गोपाल शर्मा विजयी हुनुभयो । उहाँले कांग्रेसका राजु केसी र प्रलोपाका जनार्दन शर्मालाई पराजित गर्नुभयो । नेकपाकै रमेशकुमार मल्लले सल्यानमा २३ हजार १ सय ८९ मत ल्याउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.