
काठमाडौं । निर्वाचनको इपिसेन्टर झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्नुभएको छ ।
शाह नेपालको संसदीय निर्वाचनको इतिहासमै सबैभन्दा धेरै ६८ हजार ३ सय ४८ मतसहित विजयी हुनुभएको हो । निर्वाचनमा विजयी भएसँगै शाहको प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ । ओलीले भने १८ हजार ७ सय ३४ मतमै चित्त बुझाउनुपर्यो ।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्नुभएका बालेन्द्र शाह पहिलो प्रयासमै संघीय संसद प्रवेश गर्न सफल हुनुभएको छ । उहाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ६८ हजार ३ सय ४८ मतसहित ५९ हजार ६ सय १५ मतअन्तरले हराउँदै विजयी हुनुभएको छ ।
पेसाले सिभिल इन्जिनियर रहेका बालेन्द्र शाह पछिल्ला केही वर्षयता नेपाली राजनीतिमा नयाँ पुस्ताको सबैभन्दा लोकप्रिय प्रतिनिधि हुनुहुन्छ । काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुनुहुन्छ।
उहाँले काठमाडौंस्थित ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको कर्नाटकाबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ। राजनीतिमा सक्रिय हुनुअघि शाह र्यापरका रूपमा चिनिनुभएको थियो।
उहाँका गीतहरूमा सामाजिक विकृति, भ्रष्टाचार, राजनीतिक असन्तुलन र युवाका निराशालाई विषय बनाइन्थ्यो। यही कारणले उहाँ नयाँ पुस्ताबीच लोकप्रिय हुनुभएको थियो । तर उहाँको वास्तविक राजनीतिक उदय २०७९ सालको स्थानीय तह निर्वाचनबाट सुरु भएको हो ।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका शाहलाई सुरुवातमा धेरैले गम्भीर प्रतिस्पर्धीका रूपमा लिएकै थिएनन् । राजनीतिक विश्लेषकदेखि स्थापित दलका नेतासम्मले उहाँलाई प्रतीकात्मक उम्मेदवारका रूपमा मात्र हेरेका थिए । तर चुनावी परिणामले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान परिवर्तन हुँदै गएको संकेत दियो ।
शाह भारी मतान्तरसहित काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । मेयरका रूपमा कार्यभार सम्हालेपछि उहाँले अवैध संरचना हटाउने अभियान, महानगर प्रशासनको सुधार, डिजिटल शासन र सुशासनका मुद्दामा सक्रियता देखाउनुभएको थियो ।
सार्वजनिक कार्यक्रममा कम देखिने र प्रस्तुत हुन नरुचाउने शाहको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद गर्ने शैलीका कारण युवा पुस्ताबीच अझ व्यापक समर्थन प्राप्त गर्नुभयो । जेन-जी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री पद अस्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गर्दै समावेश हुनुभयो ।
अहिले दुई तिहाइ बहुमत पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएको थियो । राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने क्रममा शाहले पुराना दलका राजनीतिक संस्कारप्रति खुलेर आलोचना गर्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै आउनुभएको थियो ।
चुनावी अभियानका क्रममा उहाँले बारम्बार ‘नेपालको राजनीति अब पुरानो ढंगले चल्दैन, नयाँ पुस्ताको इमानदार नेतृत्व आवश्यक छ’ भन्ने सन्देश दिनुभएको थियो । झापा–५ बाट उहाँको उम्मेदवारीलाई यस पटकको निर्वाचनको महत्वपूर्ण ‘ब्याटलग्राउन्ड’ का रूपमा हेरिएको थियो ।
अन्ततः उक्त निर्वाचनमा फराकिलो मतान्तरसहित विजय हासिल गर्दै शाह संघीय संसद्मा प्रवेश गर्न सफल हुनुभएको हो । २०४८ सालदेखि लगातार झापाबाट निर्वाचन लड्दै आउनुभएका एमाले अध्यक्ष ओली यसअघिका दुई निर्वाचनमा जसरी फराकिलो मतान्तरले जित्नुभएको थियो त्यसैगरी यस पटक बालेन्द्रसँग फराकिलो मतान्तरले पराजित हुनुभयो ।
र्यापर, इन्जिनियर, काठमाडौं महानगरका मेयर हुँदै संघीय संसद्सम्मको यात्रा तय गरेका बालेन्द्रलाई अहिले नेपाली राजनीतिमा नयाँ पुस्ताको परिवर्तनको प्रतीकका रूपमा हेरिएको छ।