
काठमाडौं । देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार मुलुकका केही पहाडी भू-भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरूण पौडेलले बताउनु भयो । उहाँकाअनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक-दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर, यी क्षेत्रका सबै भू-भागमा वर्षा हुने अवस्था नरहेको उहाँले बताउनु भयो ।
उहाँले मंगलबारको तुलनामा बुधबारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताउनु भयो । बुधबार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागे पनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ । उहाँले गर्मीयाम सुरू हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भए पनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताउनु भयो ।
उहाँले मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पार्नुभयो ।