
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरूको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताउनुभएको छ ।
बुधबार आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरूको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याउनुभएको हो ।
उहाँले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गर्नुभयो । उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लड्नका लागि पार्टीले आफूलाई भनेको भए पनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गर्नुभयो ।
उहाँले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फका सांसदहरूलाई कमजोर ठान्ने सोच नै गलत भएको बताउनु भयो । देशभरका मतदाताहरूले समानुपातिक सांसदहरूलाई निर्वाचित गराउने भएकाले उनीहरूलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाइ थियो ।
उपाध्यक्ष घिमिरेले एकपटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरूलाई फेरि सोहितर्फको उम्मेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राख्नुभयो ।