
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।
बुधबार ‘काठमाडौं विजनेश एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकको सीपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उहाँको भनाइ छ । उहाँले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरू आयोजना गरिरहनु जरूरी रहेको पनि बताउनु भयो ।
उहाँले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिनुभयो । सीपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको उहाँले बताउनु भयो ।
करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ ।
महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौं उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।