
रूकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रूकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । मनोनय दर्तापश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले माओवादी सशस्त्र युद्धको आधार इलाकाका रूपमा रहेको रूकुमको समग्र विकास निर्माणलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “रूकुम जनयुद्धको आधार इलाका हो, यसपटक निर्वाचनमा आएँ । रूकुमको विकासलाई पहिलो प्राथमिकता दिन्छु ।” यसअघि संयोजक दाहाल गोरखा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । रूकुममा हालसम्म राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन र नेसनल रिपब्लिकन नेपालका उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन् ।