तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काट्ने तयारी

पुस १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काट्ने तयारी

काठमाडौै ।  जेन-जी आन्दोलनको घटनामा छानविन गर्न गठित उच्चस्तरीय जाँचबुँझ आयोगले बयानका लागि यसैसाता तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई बोलाउने तयारी गरेको छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद पनि फुकुवा गरेको छ ।

आयोगका पदाधिकारीहरुले बारम्बार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँछौ भने पनि अहिलेसम्म पत्र भने पठाइएको छैन । बरु ओलीले ‘बयान दिन जान्न’ भन्नेदेखि ‘गोली ठोके भयो नि’ भनेर आयोगविरुद्द आक्रामक अभिव्यक्ति दिँदै आउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटवार्तापछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काट्ने तयारी भएको बताउनुभयो । बयानका लागि ओलीलाई आयोगको कार्यालय सिंहदरबारमै बोलाउने कि के गर्ने भन्ने विषयमा अध्यक्ष कार्कीले प्रष्ट जवाफ दिनुभएन ।

पूर्वप्रधानमन्त्री ओलीले बयान दिन नआए के गर्ने भन्ने प्रश्नमा भने अध्यक्ष कार्कीले भोलिको कुरा भोलि नै हुने जवाफ दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा आयोगको कामबारे कुराकानी भएको बताउँदै अध्यक्ष कार्कीले थपिएकै समयभित्रै प्रतिवेदन बुझाउने बताउनुभयो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बयान लिइसकेको छ । दोश्रो बयान बुधबार सकेपछि आयोगले लेखकको स्थान हद फुकुवा पनि गरेको छ । त्यसभन्दा अघि आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग बयान लिइसकेको छ ।

असोज ५ गते गठन भएको आयोगले साढे तीन महिना समय बिताइसकेको छ । एक महिना थप समय पाएको आयोगको म्याद माघ ९ गते सकिँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.