
काठमाडौै । भृकुटीमण्डपमा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय संचालनमा छ । पुस्तकालयले मात्रै भृकुटीमण्डपमा स्पेस प्रयोग गरेवापत २ करोड ६० लाख ३० हजार ९ सय २९ रुपैयाँ भाडा तिर्न बाँकी छ । नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का यसअघि अध्यक्ष रहेको पुस्तकालयमा हाल डा. गोविन्दराज पोखरेल अध्यक्ष हुनुहुन्छ । २०७५ सालसम्म आंशिक भाडा बुझाएको पुस्तकालयले त्यसपछि भाडा तिरेको छैन । कान्तिपुरसँगको कुराकानीमा खड्काले समाज कल्याण परिषद्ले एकतर्फी भाडा बढाएको र पुस्तालयको आम्दानी पनि नभएको बताउनुभयो । उता राष्ट्रिय अपाङ्ग महासंघ नाम गरेको संस्थाले पनि १ करोड ४ लाख ४२ हजार ८ सय ३५ रुपैयाँ बुझाउन बाँकी छ । यी संस्थाले न भाडा तिरेका छन् न त वार्षिक रुपमा भाडाको सम्झौता नै नविकरण गर्न आएका छन् ।
भृकुटीमण्डपमा संचालनमा रहेका विभिन्न संस्था र व्यवसायमध्ये ५० वटामा सम्झौता समस्याग्रस्त छन् । तीमध्ये मध्ये १४ वटा त दशलाख माथिका छन् । बालबालिकाका निम्ति गैरसरकारी संघको ८० लाखभन्दा बढी बक्यौता छ । चर्चित सञ्चारकर्मी तथा उद्यमी ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लबले मात्र ६१ लाख ९१ हजार रुपैयाँ तिर्न बाँकी छ । क्लबले आर्थिक वर्ष २०७५-७६ देखि नै भाडा बुझाएको छैन । रिपोर्टर्स क्लबले यस विषयमा सम्बन्धित निकायसँग छलफल गरि समस्या समाधान गर्ने प्रतिक्रिया दिएको छ । वक्यौता तिर्नेबारे भने क्लबले केहि भनेको छैन। त्यस्तै उपभोक्ता मञ्च नेपालको ४२ लाख, नेपाल नेत्रहीन संघको ४१ लाख, नेपाल अपाङ्ग समाज बहुउद्देशीय संस्था लिमिटेडको ३१ लाख, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको २९ लाख भन्दा धेरै वक्यौता छ ।
वर्षौदेखि भाडा नतिर्नेमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान पनि छ । उसले २९ लाख तिर्न बाँकी छ । त्यस्तै नेपाल ह्वील चेयर क्लबको २७ लाख, नेपाल राष्ट्रिय कर्मचारी संगठनको १९ लाख, नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्चको १६ लाख, रोशनी श्रेष्ठको १६ लाख, नेपाल फोटो पत्रकार महासंघको १५ लाख, डाइरेक्सन नेपालको १२ लाख र लोकतान्त्रिक शहिद तथा घाइते समाजको ११ लाख भन्दा बढी रकम वक्यौता तिर्न बाँकी छ ।
भृकुटीमण्डपमा रहेका संघसंस्था र व्यवसायीहरुले २०७४ सालसम्म नियमित रुपमै भाडा बुझाउने र सम्झौता नविकरण गर्ने गरेको भएपनि २०७५ सालदेखि समस्या देखिन थालेको हो । संघसंस्था र व्यवसायीले कोरोना महामारीको समेत बहाना बनाउँदा वक्यौता बढ्दै गयो । वक्यौता नतिर्नेमा अधिकांश राजनीतिक दलसँग जोडिएका र पहुँचवाला छन् । यतिसम्म कि नेपाल विद्यार्थी संघको भृकुटीमण्डपमा रहेको सम्पर्क कार्यालयको ८ लाखभन्ला बढी वक्यौता तिर्न बाँकी छ । हाल उक्त सम्पर्क कार्यालय भृकुटीमण्डपमा छैन । यता एमालेनिकट विद्यार्थी संगठनको सम्पर्क कार्यालय रातो घरले त जग्गा कब्जामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । नियमित भाडा त परको कुरा सरकारसँग सम्झौता समेत गरेको छैन । विभिन्न बहाना देखाएर ५० वटा संघसंस्था र व्यवसायीले वक्यौता तिरेका छैनन् । उठ्न बाँकी वक्यौता करिब ९ करोड पुगेको छ ।
समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डपमा रहेको १ सय ९३ रोपनी क्षेत्रफलमा १४ वटा विभिन्न क्षेत्र छन् । जसमा खसी बजार, ईच्छुमती तरकारी बजार, बाल उद्यान एवं मनोरन्जनात्मक क्षेत्र, पक्की स्टल, टहरा, मेला क्षेत्र रहेका छन् । १४ विभिन्न क्षेत्रमा करिब १७ सयभन्दा बढी पसल, व्यवसाय र संघसंस्था छन् । ५० वटा संघ-संस्था र व्यवसायीले नियमित भाडा नतिर्दा वार्षिक करिब २ करोड आम्दानी घटेको छ । हाल भृकुटीमण्डप व्यवस्थापन विभागले वार्षिक १५ देखि १६ करोड आम्दानी गरिरहेको छ ।