एमालेभित्रको आन्तरिक ऐठन र ओली ‘फोविया’

मंसिर २९, २०८२ |प्रकाश बम
एमालेभित्रको आन्तरिक ऐठन र ओली ‘फोविया’

काठमाडौं । नेपाली राजनीतिमा आफ्नो बर्चस्व कायम गर्न सफल राजनीतिक दल नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भृकुटीमण्डपमा जारी छ । 

भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा एकलाख समर्थक उतारेर महाधिवेशनको उद्घाटनसँगै एमालेभित्र ‘ओलीटिक्स’को सन्देश दिएका ओलीले भृकुटीमण्डपमा नेतृत्व चयन प्रक्रियामा हस्ताक्षेप बढाए । 

एमालेका २१ सय ५४ निर्वाचित र १ सय ८ ओलीबाट मनोनित गरी २२६२ महाधिवशेन प्रतिनिधि अहिले नेतृत्व चयन प्रक्रियामा सहभागी छन । प्रतिस्पर्धीलाई पार्टीमा निषेध गरेर आफू अनुकूलका नेतालाई पार्टीमा स्थापित गर्ने ओलीको चाहानालाई यो महिधवेशनले अस्विकार गरेको छ । 

लोकतान्त्रिक विधि र पद्दत्तिद्वारा नेतृत्व चयन हुने वातावरण निर्माण भएको छ । यो परिस्थति निर्माण नहोस् भन्ने अनेक कोशिस गरेका ओलीलाई ईश्वरले चुनौती दिइरहेका छन् । अहिलेको अवस्था सिर्जना नहोस् भन्नका लागि ओलीले विद्या भण्डारीको नविकरण भइसकेको सदस्यता रोकेका थिए । तर विद्याको विकल्पमा ईश्वर उभिए । अहिले एमालेका तल्लो तहका कार्यकर्तादेखि केन्द्रीय नेताहरूसम्म आन्तरिक ऐठन, ओली फोविया र बाह्य दबाबको त्रिकोणात्मक चेपुवामा छन् ।

ओली र उनका पक्षधरहरूले नेतृत्व निरन्तरतालाई पार्टीको अस्तित्वसँग गाँसेका छन् । ‘ओलीविनाको एमाले र एमालेविनाको देश कल्पनै गर्न सकिँदैन’ भन्ने भाष्य पार्टीभित्र जबर्जस्ती संस्थागत गरिएको छ । ओलीको आलोचना गर्नु वा विकल्प खोज्नु नै एमालेविर"द्ध लाग्नु सरह ठानिने मानसिकता एमालेभित्र देखिन्छ । 

यही कारण महाधिवेशन प्रतिनिधिहरू सार्वजनिक रूपमा बोल्न डराइरहेका छन् । क्यामेराअगाडि उनीहरू ‘अहिले एमालेमा ओलीको विकल्प छैन’ भन्ने घिसेपिटे तर्क दोहोर्याउँछन् । तर अनौपचारिक संवादमा भने उनीहरू स्वयं बाध्यतामा परेको स्वीकार्छन् र पार्टी रूपान्तरणको अपरिहार्य आवश्यकता औँल्याउँछन् । जिब्रो एक र मन अनेक हुने यो अवस्था कुनै स्वस्थ पार्टीको लक्षण होइन, यो भय र दबाबबाट निर्देशित संगठनको द्योतक हो ।

एमालेभित्र निर्माण भएको आन्तरिक ऐठन पछिल्ला दिनहरूमा झनै गहिरिँदै छ । यसको केन्द्रमा छ, केपी शर्मा ओलीप्रतिको स्वीकार्यता र अस्वीकारको द्वन्द्व, जसलाई पार्टीभित्रै ‘ओली फोवियाका रूपमा बुझ्न सकिन्छ । एकातिर, ओलीलाई संगठन मजबुत बनाउने, चुनाव जित्ने र स्पष्ट राजनीतिक लाइन दिने नेताका रूपमा हेर्ने समूह छ । अर्कोतिर, शक्ति केन्द्रीकरण, असहमतिप्रति असहिष्णुता र निर्णय प्रक्रियामा सीमित सहभागिताका आरोप लगाउँदै ईश्वर पोखरेल अष्ट्रलक्ष्मि शाक्य, सुरेन्द्र पाण्डे, योगेश भटराई गोकर्ण विष्ट, कर्ण थापा र गोकुल बास्कोटासम्म उभिएका छन । 

यही असहजता र अविश्वासले एमालेभित्र निरन्तर तनाव सिर्जना गरिरहेको छ । यो ऐठन केवल व्यक्तिप्रतिको असन्तुष्टि मात्र होइन । यो नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र पार्टीको भविष्यको दिशाबारेको भय हो । वरिष्ठ नेताहरू र नयाँ पुस्ताबीच दृष्टिकोणको टकराव, गुटगत राजनीति र शक्ति सन्तुलनको खेलले पार्टीलाई बारम्बार ऐठनमा पारेको छ ।

महाधिवेशनमा नेतृत्व चयनको समय नजिकिँदा यो ऐठन झनै सतहमा आएको छ । सर्वसम्मतिको प्रयास असफल अर्थात् सुपर फ्लप भएपछि व्यवहारमा प्रतिस्पर्धा र अविश्वास कायमै देखिन्छ । परिणामतः ओलीको ध्यान नीति र जन एजेन्डाभन्दा पनि आन्तरिक व्यवस्थापनमै अल्झियो । 

विधान महाधिवेशनले पारित गरेको केन्द्रीय कमिटी र पदाधिकारीको आकारसम्बन्धी व्यवस्था कार्यान्वयन नै नभइ संसोधन गरियो । गत भदौमा भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ रहनेगरी विधान पारित भयो । तर नेताहरू व्यवस्थापन गर्नुपर्ने बाध्यता र आफ्नो समूहमा नअटाएकाह इतर पक्षमा मिल्ने भयले ओलीले विधान महाधिवेशनको निर्णयलाई उल्टाएर नेता व्यवस्थापनको सहजताको लागि पदाधिकारीको संख्या पहिलेकै जति रहने गरी १९ पदाधिकारी बनाउने प्रस्ताव केन्द्रीय समितिबाट पारित गराए । यत्तिले पनि ओलीको खतरा टरेको छैन् । 

चितवनमा भएको दशोँ महाधिवेशनमा भिम रावललाई पराजित गर्दै अध्यक्ष भएका ओलीलाई यसपटक ईश्वर पोखरेल समूहले चुनौती दिँदैछ । त्यसो नहोस् भन्नका लागि भिम रावल हुने चेतावनी सहितको भाष्य संस्थापनले तयार पारेको छ । तर यो भाष्य यसपटक चरितार्थ हुनेछैन भन्ने जवाफ ईश्वर पोखरेलले दिएका छन् । सदावहार संस्थापनको परिचय बनाएका ईश्वर विद्याको विकल्पको रूपमा राजनीतिक जिवनको उत्तरार्धमा ओलीलाई चुनौती दिन मैदानमा छन् । ईश्वर त्यस्ता पात्र हुन एमालेको नेतृत्वमा ओलीको उदय हुनुको एक कारण हुन् । ओलीको विकल्प खोज्न समूहगत रूपमा प्रतस्पिर्धाको जोखिम लिँदैछन् ।

ओलीबिनाको एमाले सम्भव छैन् भने, जेन-जी आन्दोलनपछिका कठिन कालखण्डमा ओली नेतृत्वमै हुँदा एमाले कहाँ थियो ? ओली स्वयं प्रधानमन्त्री भएका बेला देश र लोकतन्त्र कहाँ थिए ? यी प्रश्नहरूको जवाफ एमालेसँग स्पष्ट छैन ।

एमाले र आम पाठकलाई लाग्न सक्छ, एमालेको महाधिवेशन र नेतृत्व चयनमा किन चासो ? एमाले महाधिवेशन किन आम चासोको विषय हो भन्ने प्रश्न स्वाभाविक छ । तर दलीय व्यवस्थामा एमाले जस्तो प्रमुख दलले छान्ने नेतृत्व केवल पार्टीको आन्तरिक मामिला हुँदैन। किनकी एमाले महाधिवेशनले छान्ने नेतृत्वले नै स्थानीय तहदेखि प्रतिनिधि सभासम्मको निर्वाचनलाई प्रभाव पार्दछ । उसले लिने नीति र दिशा देश र जनताको भविष्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । 

त्यसैले महाधिवेशन प्रतिनिधिले पुनः ओलीलाई नै चयन गर्नु केवल एमालेका लागि मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासका लागि पनि जोखिमपूर्ण हुनसक्छ भन्ने बुझ्न ढिलो गर्नु हुँदैन । दक्षिण भारतीय चलचित्र बाहुबलीकी पात्र सिवगामीको एउटा डाइलग छ, ‘ए मेरा वचन हैं और मेरा वचन ही हैं शासन, अर्थात् मेरा वचन नै शासन हो’ । 

एमालेमा पनि पार्टीको विधानभन्दा माथि ओलीको बोली अन्तिम सत्य बन्दै आएको छ । जब दलको विधानभन्दा व्यक्ति ठूलो बन्छ, तब संस्था कमजोर हुन्छ, यो एमाले भित्रको अहिलेको राजनीतिक सत्य हो । एमालेभित्रको आन्तरिक ऐठन अब व्यक्तिप्रतिको असन्तुष्टिभन्दा धेरै माथि पुगिसकेको छ । 

यसको केन्द्रमा ओलीप्रतिको स्वीकार्यता र अस्वीकारको गहिरो द्वन्द्व छ, चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा भम रावललाई भारी मतले पराजित गरेर अध्यक्ष बनेका ओलीलाई यसपटक आफ्नै समूहभित्रबाट चुनौती उठ्नुले एमालेको भित्रि संकट उजागर गरेको छ ।

एमाले अध्यक्ष ओली गोलरक्षकविनाको गोलपोस्टमा गोल गर्न चाहन्छन् । त्यहीँ मानसिकताको निरन्तरता शनिबार सल्लाघारीमा पनि देखियो, उद्‌घाटन सत्रमै महासचिवले निर्वाह गर्नुपर्ने भूमिका उपमहासचिवलाई सुम्पिनु र वरिष्ठ उपाध्यक्षले सम्हाल्नुपर्ने जिम्मेवारी महासचिवलाई दिनु संयोग थिएन । यो सुनियोजित नियन्त्रणको अभ्यास थियो ।

इतर पक्षको नेतृत्व गरिरहेका ईश्वर पोखरेललाई बोल्न दिए महाधिवेशन प्रतिनिधि प्रभावित हुने भय टार्ने ‘अचुक उपाय’ ठानिएको हुन सक्छ । तर त्यसको परिणाम उल्टो आयो । विचारको प्रतिस्पर्धाबाट जोगिन खोजिएको यो कदमले बहस दबाएन, बरू पार्टीभित्रको ऐठनलाई अझ गहिरो बनायो । 

अन्ततः प्रश्न एउटै छ एमाले भित्रको यो ऐठन विष्फोट भएर रूपान्तरण तर्फ जान सक्छ कि ? ओली फोवियाले पार्टीलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहन्छ ? यसको उत्तर महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका एमालेजनले दिनै नै छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।